इजरायल–इरान युद्ध चर्किंदै, उच्च अधिकारीको मृत्यु र नागरिक क्षतिमा वृद्धि

शुक्रबारदेखि सुरु भएको इजरायल र इरानबीचको युद्ध थप चर्किंदै गएको छ। पछिल्ला आक्रमण र जवाफी कारवाहीका कारण दुवै पक्षमा मानवीय तथा भौतिक क्षति बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



आइतबार राति इजरायली आक्रमणमा इरानको शक्तिशाली सुराकी निकाय ‘रेभोल्युशनरी गार्ड’ का गुप्तचर प्रमुख मोहम्मद काजेमीको ज्यान गएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि हालसम्म २२४ जना इरानी नागरिकको ज्यान गइसकेको छ।



राजधानी तेहरानमा युद्धको त्रासका कारण ठूलो संख्यामा मानिसहरू सहर छोड्न थालेका छन्। तीव्र गतिमा बढिरहेको विस्थापनका कारण सहरका मुख्य नाका तथा पूर्वाधारहरूमा भीडभाड देखिएको छ।



यसैबीच, इरानको प्रतिकारात्मक मिसाइल आक्रमणमा हाइफा र तेल अभिभजस्ता इजरायली सहरहरू प्रभावित बनेका छन्। ती स्थानहरूमा कम्तीमा १० जना भन्दा बढी इजरायली नागरिक घाइते भएको जानकारी प्राप्त भएको छ। केही अन्तर्राष्ट्रिय समाचार संस्था इजरायली मृत्यु संख्या १० पुगेको दाबी गर्छन्।
शुक्रबार इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचना र केही बस्तीहरूमा हवाई आक्रमण गरेपछि शनिबार इरानले जवाफस्वरूप बलिस्टिक मिसाइल आक्रमण सुरु गरेको थियो।
यसबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई युद्धविरामका लागि आह्वान गरेका छन्। क्यानडामा हुन लागेको जी–७ शिखर सम्मेलनमा सहभागी हुन जानुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले युद्ध तत्काल रोकिनुपर्ने बताएका हुन्।
तर, इरानले आक्रमण जारी रहेका बेला वार्ता सम्भव नरहेको स्पष्ट पारेको छ। रोयटर्सका अनुसार इरानले यो सन्देश कतार र ओमानका मध्यस्थकर्तामार्फत दिएको हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आक्रमणको उद्देश्य इरानलाई आणविक हतियार निर्माणबाट रोक्नु भएको बताएका छन्।
युद्धको असर विश्व बजारमा पनि देखिन थालेको छ। सोमबार पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ, जसले आगामी दिनमा विश्वव्यापी आर्थिक चाप बढाउने संकेत दिएको छ।