अन्तर्राष्ट्रिय योग दिवस २०२५ : भारतीय महावाणिज्य दूतावासद्वारा मधेसका ६ शहरमा योग

अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा भारत सरकार अन्तर्गतको भारतीय महावाणिज्य दूतावास, बीरगंजले मधेस प्रदेशका विभिन्न ६ जिल्लामा योग कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमहरू १६ जूनदेखि २१ जून २०२५ सम्म बिहान ५:३० बजे सुरु हुने छन्।
संयुक्त राष्ट्रसंघले भारतको पहलमा सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने निर्णय गरेको थियो, जुन प्रस्तावमा नेपालसहित १७७ राष्ट्रहरूको समर्थन रहेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रस्ताव राख्दै योगलाई “मन, शरीर र प्रकृतिबीचको समन्वय”को प्रतीक भनेका थिए।
यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मूल नारा ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ रहेको छ। भारतीय दूतावासका अनुसार, उक्त नारा व्यक्तिगत र वैश्विक स्वास्थ्यबीचको सम्बन्धलाई उजागर गर्छ। महावाणिज्यदूत देवी सहाय मीनाले भने, “योगले मानिसलाई स्वस्थ जीवनशैली रोज्न प्रेरित गर्छ, जसबाट आफू मात्र होइन, समग्र समाज र पृथ्वी लाभान्वित हुन्छ।”
योग सप्ताहको सुरुवात १६ जूनमा चितवनको भरतपुरस्थित नारायणी नदी किनारबाट हुनेछ । त्यसपछिको दिन १७ जूनमा हेटौंडा (मकवानपुर) स्थित रॉयल पार्टी प्यालेसमा कार्यक्रम हुनेछ।
१८ जूनमा रौतहट जिल्लाको श्री दुर्गा भगवती गाउँपालिका अन्तर्गत पिपरा भलोहियाको श्री सरस्वती माविमा योग अभ्यास गराइनेछ, जसमा स्थानीय सरकारको सक्रिय सहकार्य रहनेछ। १९ जूनमा धनुषा जिल्लाको जनकपुरधामस्थित तिरहुतिया गाछीमा कार्यक्रम आयोजना हुनेछ।
त्यसैगरी, २० जूनमा बारा जिल्लाको गढीमाई मन्दिर नजिकको विवाह मण्डप परिसरमा योग दिवस कार्यक्रम गरिनेछ, जुन गढीमाई नगरपालिकाको सहभागितामा सम्पन्न हुनेछ।
अन्ततः २१ जूनको मुख्य दिनमा बीरगंजको ऐतिहासिक शंकराचार्य गेटमा अन्तिम कार्यक्रम आयोजना गरिनेछ, जुन स्थान नेपाल प्रवेशद्वारको रूपमा चिनिन्छ। दूतावासका अनुसार, सबै कार्यक्रमहरू निःशुल्क हुने र सर्वसाधारणका लागि खुला रहने छन्। पहिले आओ, पहिले पाओ आधारमा स्थान सुनिश्चित गरिने भएकाले इच्छुक सहभागीहरूलाई समयमै कार्यक्रम स्थलमा पुग्न अनुरोध गरिएको छ।



