वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान, लार्भा नष्ट गर्ने कार्ययोजना सार्वजनिक

स्वास्थ्य कार्यालय, पर्साले वीरगंज महानगरमा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ। वीरगंज महानगरपालिका कार्यालयको आयोजनामा र स्वास्थ्य कार्यालयको समन्वयमा शनिबार आयोजित अभिमुखीकरण कार्यक्रममा सार्वजनिक स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अभियानको बारेमा जानकारी दिएका हुन्।
उनका अनुसार, यस वर्ष मनसुन सुरु हुनु अघि नै वीरगंज महानगरका ३२ वटै वडा तथा पर्साका अन्य पालिकामा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने काम थालिनेछ। उनले विगतका वर्षहरूमा महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गत जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहकार्यमा चलाइएको यस्तै अभियान प्रभावकारी भएकाले यसपटक पनि निरन्तरता दिइएको बताए।
ठाकुरका अनुसार, प्रत्येक वडा कार्यालयमा १० सदस्यीय टोली बनाएर तीन दिनसम्म जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ। लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक पर्ने बायोडार्ट औषधिको आपूर्ति भइरहेको जानकारी दिँदै उनले हाल वीरगंजमा लामखुट्टेको संख्या घट्नुमा गर्मीभन्दा बढी प्रभावकारी औषधि छराइको योगदान रहेको दाबी गरे।
स्वास्थ्य कार्यालय, पर्साले चालू आर्थिक वर्षमा १६ वटा औषधि छर्कने टङ्की र एक हजार बायोडार्ट औषधिको झोल वीरगंजका १ देखि १६ नम्बर वडामा उपलब्ध गराइसकेको र अन्य आवश्यक सामग्रीहरू पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा बोल्दै जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले पछिल्ला वर्षहरूमा वीरगंजमा डेङ्गी सङ्क्रमणको दर बढ्दै गएको बताए। उनका अनुसार चालू आर्थिक वर्षमा १६ हजार ३३४ जनाको डेङ्गी परीक्षण गर्दा ४७० जनामा सङ्क्रमण देखिएको छ। अघिल्लो वर्ष चार हजार ७८१ जनामध्ये ३४९ जनामा र त्यसअघिको वर्ष दुई हजार ६६१ परीक्षणमध्ये १९९ जनामा सङ्क्रमण भेटिएको थियो।
त्यस्तै, चालू आर्थिक वर्षमा छिमेकी भारतबाट आएका १४ जनामा मलेरियाको सङ्क्रमण देखिएपछि आवश्यक उपचार गरिएको जानकारी पनि उनले दिए।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले नगरभित्र फोहर व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दै जथाभावी फोहर फ्याँक्ने विरुद्ध जरिवाना गरेर अभियानलाई सशक्त बनाइएको जानकारी दिए। उनका अनुसार, अढाई वर्षको अवधिमा ६६ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। उनले लामखुट्टे नियन्त्रणमा महानगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।



