पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङको आरोप – सरकारले इमानदार सेवाको कदर गरेन

नेपाल विद्युत् प्राधिकरण (नेविप्रा)का पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले वर्तमान सरकारले आफ्नो इमानदार सेवाको कदर नगरेको आरोप लगाएका छन्। निजगढमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले आफूले ऊर्जा क्षेत्रमा आठ वर्षसम्म इमानदारीपूर्वक काम गरे पनि सरकारले मूल्याङ्कन गर्नुको सट्टा जबरजस्ती पदबाट हटाएको बताए।



“लाखौं जनताको समर्थन र सदन पाँच दिनसम्म अवरुद्ध भएको अवस्थामा पनि सरकारले मलाई हटायो। यस्तो समर्थन पाएको कर्मचारी सम्भवतः म पहिलो हुँ,” घिसिङले भने, “यो इतिहास हो। इमानदारीका साथ काम गर्दा जनताको साथ पाइन्छ भन्ने सन्देश यही हो।”



रामेछापको विकट पहाडी गाउँबाट इन्जिनियरिङ अध्ययन गरी नेविप्राको कार्यकारी प्रमुख पदसम्म पुगेका घिसिङले आफू जहाँ रहे पनि देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कार्यकालमा नेविप्रालाई घाटाबाट नाफामा ल्याएको, लोडसेडिङ अन्त्य गरेको र विद्युत् पहुँच झन्डै शतप्रतिशतमा पु¥याएको बताए।



“विद्युत् भारत र बङ्गलादेशसम्म निर्यात गर्न सफल भयौं। गत वर्ष मात्रै १७ अर्बको विद्युत् निर्यात गरियो, र आगामी दिनमा निर्यात अझै बढ्छ भन्ने विश्वास छ,” घिसिङले दाबी गरे।
उनले सरकारद्वारा हालै जारी गरिएको श्वेतपत्रप्रति पनि असन्तुष्टि जनाउँदै भने, “नेविप्रा ४७ अर्ब सञ्चित नाफामा छ, गत वर्ष मात्रै साढे १० अर्ब नाफा गरेको संस्थालाई घाटामा देखाउने प्रयास हास्यास्पद छ।” उनले आर्थिक सर्वेक्षणमार्फत ९९ प्रतिशत विद्युतीकरण भएको तथ्य स्वयं सरकारले बजेटमा प्रस्तुत गरेको स्मरण गराए।
पूर्व कार्यकारी प्रमुख घिसिङले ऊर्जा क्षेत्र नै समृद्धिको मूल आधार भएको तर अहिले सरकार निराशा फैलाउने खालका कुप्रचारमा लागेको गुनासो गरे।
कार्यक्रममा वरिष्ठ कलाकार युवराज लामा, नेता बेनीबहादुर मोक्तान, कुमार मोक्तानलगायतको सहभागिता थियो। कार्यक्रमको स्वागत मन्तव्य रविराज दङ्गालले राखेका थिए भने सञ्चालन प्रतीक भ्लोनले गरेका थिए। कार्यक्रम उज्यालो नेपाल अभियानको आयोजनामा सम्पन्न भएको हो।