No Image Headlineअन्तराष्ट्रिय

इजरेली हमलामा इरानको प्रमुख युरेनियम केन्द्र र विमानस्थलमा प्रहार, दर्जनौँ वरिष्ठ अधिकारी मारिए

इजरेली सेनाले इरानमा सैन्य आक्रमण गर्दै नतान्जस्थित प्रमुख युरेनियम प्रशोधन केन्द्र र तब्रिजको विमानस्थलमा हमला गरेको छ।

गत राति गरिएको सो कारबाहीमा इजरेलले इरानका उच्च तहका अधिकारीहरूलाई निशाना बनाएको दाबी गरिएको छ। हमलामा इरानको रिभोलुशनरी गार्ड्सका प्रमुख होसेन सलामीसहित अन्य वरिष्ठ कमान्डरहरूको मृत्यु भएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। देशका पूर्व परमाणु ऊर्जा प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ।

तेहरानको आवासीय क्षेत्रहरू सहित कम्तीमा छ सहरमा आक्रमण गरिएको इरानले जनाएको छ। इजरायली आक्रमणको जवाफमा इरानले सयभन्दा बढी ड्रोन प्रहार गरेको दाबी गर्दै यसलाई “युद्धको घोषणा” भनेको छ। इजरेलले भने तीमध्ये अधिकांश ड्रोनहरू मार्गमै रोकिएको जनाएको छ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त हमला ‘अपरेशन राइजिङ लायन’ अन्तर्गत गरिएको भन्दै इरान इजरेलको अस्तित्वका लागि खतरा बनेको बताएका छन्। उनले इरानको परमाणु कार्यक्रमको ‘मुटुमा’ प्रहार गरिएको दाबी गर्दै आवश्यकताअनुसार हमला जारी राखिने बताएका छन्।

इजरायली रक्षामन्त्रीले आक्रमणको पुष्टि गर्दै इरानबाट संभावित जवाफी हमलाको अपेक्षामा देशमा संकटकाल घोषणा गरिएको जानकारी दिए। स्थानीय समय अनुसार बिहान ४ बजेपछि तेहरानमा ठूलो आवाजसहितका विस्फोटहरू सुनिएको थियो।

बीबीसीसँग कुराकानी गर्दै एकजना इजरेली सैन्य अधिकारीले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित थुप्रै ठाँउमा निशाना प्रहार गरिएको बताए। उनका अनुसार इरानसँग केही दिनभित्रै परमाणु बम बनाउन सक्ने पर्याप्त सामग्री रहेको छ।

युद्धको जोखिम चुलिँदै गइरहेका बेला उडान सेवामा समेत असर देखिएको छ। उडान ट्र्याक गर्ने वेबसाइट Flightradar24 का अनुसार तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडानहरू स्थगित भएका छन् भने इजरायली सहर तेल अभिभतर्फका केही उडानहरू मोडिएको छ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै इजरायल अझ कडा कारबाहीको तयारीमा रहेको बताएका छन्। ट्रम्पले तेहरानलाई परमाणु कार्यक्रमको विषयमा सहमति खोज्न आग्रह गरेका छन्। उनले अमेरिकाले इजरेललाई अत्याधुनिक सैन्य उपकरणहरू उपलब्ध गराएको पुष्टि पनि गरेका छन्।

हालसम्म अमेरिकाले उक्त आक्रमणमा आफू सहभागी नरहेको स्पष्ट पारेको छ। वाशिङ्टनले सो क्षेत्रका अमेरिकी सेनाको सुरक्षालाई प्राथमिकता दिइएको जनाएको छ।

युद्धको सम्भावना तीव्र बनेका बेला संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) का प्रमुख राफाएल ग्रोसीले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेका छन्। उनले परमाणु केन्द्रहरूमा आक्रमण गर्न नहुने स्पष्ट चेतावनी पनि दिएका छन्।

त्यस्तै, उग्रवादी समूह हेज्बोल्लाहले इजरेली आक्रमणको कडा निन्दा गर्दै इरानमाथिको आक्रमणले समग्र क्षेत्र नै युद्धको चपेटामा ल्याउने चेतावनी दिएको छ।

क्षेत्रीय तनाव दिनप्रतिदिन चर्कंदै गइरहेको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई वार्तातर्फ उन्मुख हुन आग्रह गरिरहेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button