कीएभमाथि रुसका ड्रोन हमला: निरन्तर बढ्दो खतरा, निद्राविहीन रातहरू

युक्रेनका सहरहरूमा रुसद्वारा गरिने ड्रोन आक्रमणको सङ्ख्या निरन्तर बढिरहेको छ। यसै सन्दर्भमा सोमवार राति कीएभमाथि भएको भीषण ड्रोन आक्रमण हालसम्मकै सबभन्दा गम्भीर घटनामध्ये एक मानिएको छ।



आक्रमण मध्यरातपछिका कैयन् घण्टासम्म जारी रह्यो। कीएभको आकाशमा चारैतिरबाट आएका ड्रोन देखिएका थिए। तीव्र गतिका सर्चलाइट, हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार गरिएका सुन्तला रङ्गका ट्रेसर गोलीहरूले आकाश उज्यालो बनाएका थिए। प्रत्येक ड्रोन देखा पर्नासाथ सडकमा मेशिन गनको आवाज घन्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।



होटेलको झ्यालबाट हेर्दा सहरको टाढाको भागमा आगोका लप्का देखिन्थे भने आकाशमा देखिने प्रकाशसँग प्रतिस्पर्धा गर्न नचाहेजस्तो चन्द्रमा बिस्तारै लुकिरहेको दृश्य देखिएको थियो।



धेरै ठूलो आवाजसहितका विस्फोटहरूले कहिले ड्रोन रोकिएको संकेत गर्थे त कहिले प्रहार सफल भएको जनाउँथे। घटनाक्रमको तीव्रताले वास्तविक स्थिति बुझ्न कठिन बनाएको छ।
युक्रेनका अधिकारीहरूले बारम्बार “भीषण” शब्द प्रयोग गर्दै आएको पाइन्छ, तर तथ्यांकमा हेर्दा रुसले युक्रेनी सहरहरूमा आक्रमणको दर युद्धको सुरुका दिनहरूभन्दा अत्यधिक बढाएको स्पष्ट हुन्छ।
युक्रेनी जनरल स्टाफका अनुसार सन् २०२3 को अगस्तभन्दा तीन महिनाअघि रुसले कूल ११ सय ड्रोन आक्रमण गर्यो। त्यसपछि उक्त सङ्ख्या चर्किँदै गएको देखिन्छ — अगस्तमा मात्र ८१८, सेप्टेम्बरमा १,४१० र अक्टोबरमा २,००० ड्रोन आक्रमण भएका थिए।
यो वर्षको मे महिनामा पहिलो पटक ड्रोन आक्रमणको संख्या ४,००० नाघेको युक्रेनी हवाई सेनाले जनाएको छ। जुन महिनाको पहिलो १२ दिनमै औसतमा प्रतिदिन २५६ ड्रोन प्रहार भएको तथ्याङ्क छ।
प्रयोग गरिएका ड्रोनहरूमध्ये अधिकांश शाहेद मोडलका छन्, जसलाई प्रारम्भमा इरानले रुसलाई आपूर्ति गरेको थियो। पछि रुसले आफ्नो टाटार्स्तान क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा ‘जेरान’ नामक ड्रोनको उत्पादन थालेको थियो।
युक्रेनी सुरक्षा सेवा (SBU) का प्रवक्ता आर्टेम देतियारेन्कोका अनुसार रुसले हालसम्म सो क्षेत्रमा २५ हजार ड्रोन उत्पादन गरिसकेको छ भने २० हजार ड्रोन इरानबाट प्राप्त सामग्री प्रयोग गरी बनाइएको हो।
सोमवार रातिको आक्रमणमा प्रयोग गरिएका ३१५ ड्रोनमध्ये २५० वास्तविक स्ट्राइक ड्रोन भएको युक्रेनी हवाई सेनाका प्रवक्ता युरी इहनातले जानकारी दिए। तीमध्ये अधिकांशको निशाना कीएभ नै रहेको उनको भनाइ छ। साथै, कीएभलाई लक्षित गर्दै सातवटा बलिस्टिक तथा क्रुज मिसाइल पनि प्रहार गरिएको थियो।
यस्ता निरन्तर आक्रमणहरूका कारण कीएभका बासिन्दाहरू मानसिक र शारीरिक रूपमा थकित हुँदै गएका छन्। कीएभ निवासी काट्याले भनिन्, “झन् झन् गाह्रो हुन थालेको छ। पहिले भावनात्मक रूपमा सजिलो लाग्थ्यो, तर अब कठिन बन्दै गएको छ।”
उनका अनुसार अचेल ड्रोनको आवाज समेत अघिल्ला आक्रमणहरूसँग तुलना गर्दा फरक सुनिन थालेको छ। यो रूसी प्रविधिमा भइरहेको लगातार सुधारको संकेत हुन सक्ने सुरक्षा विश्लेषकहरूको भनाइ छ।
SBU का प्रवक्ता देतियारेन्कोका अनुसार रुसी इन्जिनियरहरूलाई ड्रोनको मारक क्षमता बढाउन निर्देशन दिइएको छ, जसबाट अधिक नागरिक क्षति र संरचनात्मक विध्वंस होस्। साथै, युक्रेनी हवाई प्रतिरक्षा प्रणालीलाई झुक्याउन सक्ने प्रविधिको समेत विकास भइरहेको छ।
सोमवारको हमलामा कीएभका अपार्टमेन्ट ब्लक तथा कार्यालयहरू निशानामा परेका थिए। केही सैन्य लक्ष्यहरू नजिकका क्षेत्रहरूमा क्षति पुगेको भए पनि युक्रेनी प्रशासनले त्यसबारे आधिकारिक टिप्पणी गरेको छैन।
तर युक्रेनको संस्कृति मन्त्रालयले सेन्ट सोफिया कथिड्रलमा क्षति पुगेको पुष्टि गरेको छ। ११औँ शताब्दीमा निर्माण भएको यो ऐतिहासिक स्थल युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ र युक्रेनको प्रमुख सांस्कृतिक तथा धार्मिक धरोहरमध्ये एक मानिन्छ। कथिड्रलको बाहिरी पूर्वी भागमा केही क्षति पुगे पनि भित्री भाग सुरक्षित रहेको बताइएको छ।
ड्रोन आक्रमणहरूको यो बढ्दो सघनता युक्रेनी सहरहरूमा नकारात्मक मनोवैज्ञानिक र भौतिक असर पारिरहेको छ। प्रविधिमा भइरहेका परिवर्तनहरू रुसको लामो रणनीतिक तयारीको संकेत दिन्छन्। यसले युक्रेनी नागरिक जीवन र सम्पदालाई थप असुरक्षित बनाएको छ।