No Image Headlineखबर फटाफटदेश

वीरगञ्ज र पोखरिया नगरपालिकामा अत्यधिक गर्मीका कारण विद्यालय बन्द

देशभर बढ्दो गर्मीको असर शिक्षामा पनि पर्न थालेको छ। अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिका र पर्सा जिल्लाको पोखरिया नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

वीरगञ्ज महानगरपालिकाले जेठ २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले पछिल्ला दिनमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै उक्त निर्णय लिएको जानकारी दिए। उनका अनुसार गर्मी बिदा बर्खे बिदाबाट कट्टा गरिनेछ भने विद्यालय प्रशासन भने सो अवधिमा खुला रहनेछ।

यसैबीच, पोखरिया नगरपालिकाले पनि तीन दिनका लागि पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ। नगरप्रमुख प्रदुमनप्रसाद चौहानले जेठ २८ देखि ३० गतेसम्म पालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालयमा गर्मी बिदा दिइने बताए। “बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर तीन दिनको बिदा दिने निर्णय गरेका छौं,” उनले भने, “अब असार १ गतेदेखि नियमित कक्षा सञ्चालन हुनेछ।”

नगरपालिकाले बाल विकासदेखि कक्षा १२ सम्मका सबै तहका पठनपाठन स्थगन गरेको जनाएको छ।

देशका तराई क्षेत्रहरूमा हालसालै तापक्रम अत्यधिक बढेको छ। विशेषज्ञहरूले बालबालिकालाई दिउँसोको समयमा घरभित्रै रहन र पर्याप्त पानी पिउन सल्लाह दिएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button