अमेरिकाभर आप्रवासीको विरोध प्रदर्शन तीव्र, ट्रम्प प्रशासनको तीव्र आलोचना

अमेरिकामा आप्रवासीहरूद्वारा भइरहेको विरोध प्रदर्शन क्रमशः तीव्र बन्दै गएको छ। लस एन्जलसबाट सुरु भएको प्रदर्शन अहिले न्युयोर्क, सान फ्रान्सिस्को लगायतका अन्य शहरहरूमा समेत फैलिएको छ।
न्युयोर्कमा प्रदर्शनकारीहरूले अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइसिई) को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीतिको विरोध गर्दै न्यूयोर्कबाट आइसिईको कार्यालय हटाउन माग गरेका छन्।
यसैबीच, सान फ्रान्सिस्कोमा पनि आप्रवासी नीतिविरुद्ध प्रदर्शन भइरहेका छन्। सोही कारण दिउँसो १ बजेदेखि त्यहाँको अदालत बन्द गर्नुपरेको छ। प्रदर्शनकारीहरूले १०१ मार्गका लेनहरू बन्द गराएपछि यातायातसमेत प्रभावित भएको छ। यो तीन दिनमा दोहोरिएको यस्तो घटना हो।
लस एन्जलसमा प्रदर्शन नियन्त्रण गर्न राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेनाको प्रयोग गरेपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र लस एन्जलसकी मेयर कारेन बास आक्रोशित भएका छन्।
मेयर बासले स्थानीय प्रशासनलाई जानकारी नदिई संघीय बल प्रयोग गरिएकोप्रति आपत्ति जनाएकी छन्। उनले अवस्था गम्भीर भएमा रात नपुग्दै कर्फ्यु लाग्न सक्ने चेतावनीसमेत दिएकी छन्।
प्रदर्शन दमन नगर्न आग्रह गर्दै मेयर बासले प्रहरी प्रमुखसँग भेट गरेकी छिन् भने गभर्नर न्यूसमले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता गरिसकेका छन्। तर, धरपकड रोक्न गरिएको गभर्नरको निवेदन त्यहाँको अदालतले अस्वीकार गरिदिएको छ।
प्रदर्शनकारीहरूले आप्रवासीप्रति भइरहेको व्यवहारको विरोधमा राष्ट्रव्यापी ऐक्यबद्धता देखाइरहेका छन्। यो मुद्दा अमेरिकी राजनीतिमा थप चर्किंदै गएको देखिएको छ।



