गृहमन्त्रीको राजीनामाबाट किन ब्याक भए विपक्षी दल

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएसँगै उत्पन्न विवाद आइतबार पनि निरन्तर रहँदा प्रतिनिधिसभा बैठक अवरुद्ध रह्यो। विपक्षी दलहरूको अवरोधका कारण आइतबारका तीनवटै बैठक बस्न सकेनन्। अन्ततः साँझ ६:३० बजे बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भयो।
प्रतिनिधिसभा बैठक सञ्चालनमा ल्याउन सत्तारूढ र विपक्षी दलहरू आइतबार दिनभर छलफलमा जुटे पनि ठोस सहमति हुन सकेन। विशेषगरी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र नेकपा (एकीकृत समाजवादी)सँग संवाद गरेको थियो। सत्तापक्षले सहमतिको सम्भावना देखाए पनि विपक्षी दलहरूको अवरोधका कारण संसद् सुचारु हुन सकेन।
विपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्। उनीहरूका अनुसार लेखक स्वयंले पूर्वगृहमन्त्री रवि लामिछानेप्रति नैतिकताको प्रश्न उठाएका थिए, त्यसैले अहिलेको अवस्थामा उनले पदमा रहन नहुने तर्क गर्दै आएका छन्।
छलफलमा कांग्रेसले त्रिभुवन विमानस्थलको अध्यागमन प्रणाली, नीति तथा संरचनामा सुधार गर्ने, अध्ययन समिति गठन गर्ने र अख्तियारको अनुसन्धान निष्कर्षपछि अगाडि बढ्ने प्रस्ताव गरेको थियो। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध रहेको लिखित आश्वासन दिनुपर्ने प्रस्ताव पनि राखेका थिए। माओवादी केन्द्र र एकीकृत समाजवादी कांग्रेसको प्रस्तावप्रति सकारात्मक देखिए पनि रास्वपाले गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्ने अडान यथावत राख्यो।
छलफलमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ र सन्तोष परियार सहभागी थिए। एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे पनि छलफलमा थिए। तर, स्पष्ट सहमति नजुटेकाले आइतबारको संसद् बैठक पनि सञ्चालन हुन सकेन।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दलहरू समझदारीको नजिक पुगेको दाबी गर्दै सोमबारको बैठक सञ्चालन हुने विश्वास व्यक्त गरे। उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने गरी छलफल अगाडि बढिरहेको बताए।
तर, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अहिलेसम्म कुनै औपचारिक सहमति नभएको स्पष्ट पारे। उनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठनको अडान कायमै रहेको बताए।
त्यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तापक्षले विषयको गाम्भीर्य नबुझेको आरोप लगाउँदै छानबिन समिति गठन आफूहरूको न्यूनतम माग रहेको बताए। उनले सोमबारको बैठकअघि दलहरूबीच सहमति हुने अपेक्षा व्यक्त गरे।
संसद्को गतिरोध अन्त्य गर्न भइरहेको संवाद सकारात्मक भए पनि गृहमन्त्री लेखकको राजीनामा वा छानबिनमा समावेश गर्ने विषयमा स्पष्ट सहमति नजुट्दा संसद् अझै अवरुद्ध रहने सम्भावना कायमै छ।



