भान्छामा भित्रिँदै विषादी, जनस्वास्थ्यमा गम्भीर खेलवाड

नेपाली बजारमा दैनिक उपभोग गरिँदै आएका तरकारी, फलफूल तथा खाद्य वस्तुमा विषादीको मात्रा कति छ भन्ने कुरा सर्वसाधारणले सहजै थाहा पाउन सक्दैनन्। हेर्दा ताजा, सफा र आकर्षक देखिने तरकारी तथा फलफूलभित्र पनि अत्यधिक विषादी हुन सक्ने खतरा विशेषज्ञहरूले औंल्याउँदै आएका छन्।
विषादीको मात्रा पत्ता लगाउन वैज्ञानिक विधि प्रयोग गर्नु अनिवार्य भए पनि नेपालमा यस्तो प्रविधि पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन। विषादी परीक्षण प्रयोगशालामा मात्र सम्भव भए पनि अधिकांश उपभोक्ता परीक्षणबिनै खाद्य वस्तु उपभोग गर्न बाध्य छन्।
यद्यपि सरकारले पछिल्ला वर्षहरूमा विषादी परीक्षणलाई प्राथमिकतामा राख्दै आएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि खाद्यान्न, तरकारी, फलफूल, मासु र दूधजन्य वस्तुहरू अनिवार्य विषादी परीक्षणपछि मात्र बजारमा ल्याउने व्यवस्था गरिने बताएका छन्।
‘थोक बजार केन्द्रमा द्रुत परीक्षण विधिबाट ताजा तरकारी तथा फलफूलमा विषादी परीक्षण गरिनेछ,’ उनले बजेट भाषणमा भने, ‘अखाद्य वस्तु भेटिएमा तत्काल नष्ट गर्ने व्यवस्था मिलाइनेछ।’
हाल नेपालमा विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमार्फत १२ वटा भन्सार नाकामा विषादी परीक्षण हुँदै आएको छ। स्वदेशी उत्पादनमा भने केन्द्रीय कृषि प्रयोगशाला तथा प्रदेशस्तरीय प्रयोगशालाबाट परीक्षण गरिँदै आएको छ।
तर, यस्ता परीक्षण व्यावहारिक नभई औपचारिकता मात्रै भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाको आरोप छ। ‘विचौलियाले ल्याउने केही नमुना तरकारी परीक्षण गर्नुको अर्थ छैन,’ उनले भने, ‘उपभोक्ता गुणस्तरीय वस्तु उपभोग गर्नबाट वञ्चित भइरहेका छन्।’
उनले प्रभावकारी परीक्षणको जिम्मेवारी सम्बन्धित सरकारी निकायको भएको स्पष्ट पारे। उनका अनुसार हाल नेपालमा अधिकांश तरकारी तथा फलफूल कुनै परीक्षणबिनै बजारमा बिक्री हुने गरेका छन्।
केन्द्रीय कृषि प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिल्सिनाका अनुसार हाल नेपालमा प्रयोगमा रहेका १६५ भन्दा बढी प्रकारका विषादीमध्ये जम्मा दुई समूह – कार्बामेट र अर्गानोफस्फेट – मा पर्ने विषादी मात्र परीक्षण भइरहेको छ। ‘अन्य विषादी परीक्षण गर्ने प्रविधि नेपालमा छैन,’ उनले बताए।
उनका अनुसार परीक्षणमा यी दुई समूहको विषादी अवशेष दर ४५ प्रतिशतभन्दा माथि देखिएमा ती तरकारी खान नहुने हुन्छ। ३५ देखि ४५ प्रतिशतसम्मको दर देखिए केही दिन राखेपछि मात्रै उपभोग गर्न मिल्छ, भने ३५ प्रतिशतभन्दा कम भएमा स्वास्थ्यमा खास असर नपर्ने जनाइएको छ।
तर हाल प्रभावकारी परीक्षण नहुँदा अत्यधिक विषादीयुक्त वस्तुहरू खुला रूपमा बजारमा बिक्री भइरहेका छन्। जसका कारण क्यान्सर, मिर्गौला, छालाका रोग, गर्भसम्बन्धी जटिलता लगायतका दीर्घकालीन स्वास्थ्य समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ।
तरकारी तथा फलफूलको विषादी परीक्षणमा सरकारी संवेदनशीलता अझै कमजोर रहेको उपभोक्ता अधिकारकर्मीहरूको आरोप छ। विषादीको जथाभाबी प्रयोग रोक्न प्रभावकारी कदम चाल्नुपर्ने माग उनीहरूले गरेका छन्।



