
लामो समयदेखि बन्द अवस्थामा रहेको वीरगञ्जको बाल उद्यान अब ‘शङ्खधर साख्वः उद्यान’को नाममा नयाँ स्वरूप र ढाँचामा पुनः सञ्चालनमा ल्याइएको छ। वीरगञ्ज महानगरपालिकाले पार्कको पुनर्निर्माण, सौन्दर्यकरण तथा नाम परिवर्तन गर्दै यसलाई सांस्कृतिक तथा सामुदायिक महत्त्वको स्थलका रूपमा विकास गरेको हो।
पार्कको पूर्वाधार निर्माण तथा सौन्दर्यकरणमा रु एक करोड २५ लाख खर्च भएको महानगरले जानकारी दिएको छ। अतिक्रमण हटाउँदै उद्यानको क्षेत्रफल विस्तार गरी हाल दुई बिघामा फैलाइएको छ। उद्यानमा अहिले पानीको फोहोरा, खुलामञ्च, वनभोजस्थल, नृत्यस्थल, टेबलटेनिस कोर्ट, योगस्थल र प्रभातयात्राका लागि ट्रयाकजस्ता सुविधा उपलब्ध छन्। सुरक्षा व्यवस्था मजबुत बनाउन उद्यान चारैतिर पर्खालले घेरिएको छ।
महानगर प्रमुख राजेशमान सिंहले शङ्खधर साख्वः उद्यान केवल मनोरञ्जन वा सौन्दर्यकरणको परियोजना नभएर वीरगञ्जवासीको जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको बताए। “शङ्खधर साख्वः पार्कलाई हामी मनोरञ्जन, स्वास्थ्य र समुदायको मुटु बनाउनेछौँ,” उहाँले भन्नुभयो, “यसले हाम्रो संस्कृतिलाई सम्मान गर्दै समृद्ध नगर निर्माणमा योगदान पुर्याउनेछ।”
महानगरका अनुसार उद्यान हरेक दिन बिहान ६ः०० देखि ८ः०० बजेसम्म र साँझ ५ः०० देखि ८ः०० बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।



