No Image Headlineअन्तराष्ट्रिययस्तो पनि

इलोन मस्क र डोनल्ड ट्रम्पबीचको विवाद गहिरिँदै, टेस्ला र स्पेस एक्सको भविष्य अन्योलमा !

विश्वप्रसिद्ध उद्यमी इलोन मस्कले राजनीतिबाट टाढिने घोषणा गरेपछि प्रविधि कम्पनीहरूमा उनकाे सक्रियता बढ्ने अपेक्षा गरिएको थियो। तर पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पसँगको खुला विवाद सतहमा आउँदा, लगानीकर्ताहरू मस्कको प्राथमिकता पुनः अन्यत्रै सर्नसक्ने चिन्तामा छन्।

मस्कले सामाजिक सञ्जालमार्फत ट्रम्पमाथि कडा टिप्पणी गरेपछि टेस्लाको सेयर बिहीबार १४ प्रतिशतले घट्यो। यससँगै उनको कम्पनीहरू फेरि संकटको घेरामा छन्। विश्लेषकहरूका अनुसार, मस्कले राजनीति छोडे पनि, जबसम्म उनले फोन बन्द गरेर व्यवसायमा ध्यान केन्द्रित गर्दैनन्, तबसम्म टेस्ला र उनका अन्य कम्पनीहरू संकटबाट बाहिर निस्कन सक्ने छैनन्।

वर्तमानमा, टेस्लाको व्यवसाय गहिरो संकटमा छ। विश्लेषकहरू मस्कको ट्रम्प प्रशासनमा निभाएको विवादास्पद भूमिकालाई यसको प्रमुख कारण मान्छन्। प्रविधि पत्रकार कारा स्विशरले पनि टेस्लाको समस्यालाई यही बिन्दुसँग जोड्दै मस्कले आफ्नो ध्यान प्रविधिमा नलगाउँदा कम्पनीको भविष्य अन्योलमा परेको बताउँछिन्।

टेस्ला अहिले गुगलको मातृ कम्पनी अल्फाबेटद्वारा सञ्चालित वाइमोसँग प्रतिस्पर्धामा छ। वाइमोका चालकबिनाका ट्याक्सीहरू सान फ्रान्सिस्कोदेखि अन्य सहरहरूमा विस्तार भइरहेका बेला, टेस्ला भने आफ्ना स्वचालित ट्याक्सीहरू टेक्ससको अस्टिनमा परीक्षणका लागि तयार गर्दैछ।

वेडबुस सेक्युरिटिजका विश्लेषक डान इभ्सका अनुसार, टेस्लाको भविष्यका ९० प्रतिशत उत्पादनहरू चालकबिनाको प्रविधिमा आधारित हुनेछन्। तर मस्कको ध्यान विभाजित हुँदा यो परियोजना पछाडि धकेलिएको छ।

टेस्लाका दीर्घकालीन लगानीकर्ता रोस गर्बरले मस्कको राजनीतिक हस्तक्षेपले टेस्लामा ठूलो नकारात्मक असर पारेको बताउँदै, “अमेरिकी राष्ट्रपतिको शक्ति भन्दा आफूसँग बढी शक्ति छ भन्ने सोच्नुले मस्कले ठूलो भूल गरेका छन्,” भने।

सामाजिक सञ्जालमा ‘टेस्ला टेकडाउन’ नामक अभियानले टेस्लाको कार बिक्रीमा गिरावट ल्याएको देखिन्छ। एप्रिलमा प्रकाशित विवरण अनुसार, २०२५ को पहिलो त्रैमासिकमा टेस्लाको बिक्री २० प्रतिशत घटेको छ भने नाफा ७० प्रतिशतले घटेको छ।

ट्विटर (हालको एक्स) खरिदपछि मस्कको आलोचना झनै तीव्र बनेको छ। सामाजिक अभियन्ता जोन डोनोभान भन्छन्, “हामी मस्कको विरुद्ध होइनौं, तर उनका कार्यहरूले कसरी स्टकलाई शक्ति प्राप्तिको हतियार बनायो भन्नेविरुद्ध छौं।”

यद्यपि मस्क र ट्रम्पबीचको कटुता मस्कका पक्षमा समेत जानसक्ने संकेत विश्लेषकहरूले गरेका छन्। मूर इनसाइट्स एन्ड स्ट्राटेजीका प्रमुख विश्लेषक पाट्रिक मूरहेड भन्छन्, “अमेरिका माफी दिन सक्ने देश हो, तर त्यसका लागि समय चाहिन्छ।”

स्विशरले मस्कको छविलाई दुई दशकअघि अशिष्ट व्यवहारका लागि बदनाम माइक्रोसफ्ट सह-संस्थापक बिल गेट्ससँग तुलना गरेकी छिन्। “गेट्सले पछि सुधार गरे, मस्कले पनि सक्ने सम्भावना छ,” उनी भन्छिन्।

तर यसबीच ट्रम्पले मस्कका कम्पनीहरूसँगको ३८ अर्ब डलर बराबरका सरकारी सम्झौता कटौती गर्ने चेतावनी दिइसकेका छन्। यसमा ठूलो हिस्सा स्पेस एक्ससँग सम्बन्धित छ, जसले नासाका लागि अन्तरिक्षयात्रीहरू र सामग्री अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म पु-याउँदै आएको छ। मस्कको इन्टरनेट कम्पनी स्टारलिङ्क पनि राष्ट्रिय सुरक्षामा महत्वपूर्ण मानिन्छ।

हालसालै, मस्कले ट्रम्पसँगको विवादपछि स्पेस एक्सको ‘ड्रागन’ यान फिर्ता बोलाउने धम्की दिएका थिए, तर पछि सामाजिक सञ्जालमार्फत उनले त्यो विचारबाट पछि हटेको प्रस्ट पारे।

अहिलेको अवस्थाले मस्क र ट्रम्पबीचको मित्रता टुटिसकेको देखिन्छ। तर एक अर्कामा उनीहरूको परनिर्भरता भने अझै टुङ्गिएको छैन। मस्कका व्यवसायको भविष्य अब ट्रम्प र उनको प्रशासनको आगामी नीतिमा निर्भर हुने देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button