No Image Headlineदेशमुख्य खबर

धनगढी नाकामा चार जनामा कोभिड संक्रमण, नेपालका नाकाहरूमा निगरानी कडा

भारतमा कोभिड–१९ को नयाँ भेरिअन्टको संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै नेपालमा पनि सतर्कता बढाइएको छ। सुदूरपश्चिम प्रदेशको धनगढी नाकामा गरिएको र्‍यान्डम परीक्षणका क्रममा चार जनामा कोभिड संक्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरू सतर्क भएका छन्।

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. खगेन्द्र बमका अनुसार संक्रमण पुष्टि भएकाहरू अछाम, डोटी, कैलाली र बर्दिया जिल्लाका हुन्। ती संक्रमितहरू महाराष्ट्र, दिल्ली र गुजरातबाट आएका थिए। उनीहरूलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको छ।

भारतमा सक्रिय संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ। बिहीवार अपरान्हसम्म भारतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा ४,८६६ सक्रिय संक्रमित रहेको उल्लेख छ। भारत सरकारले राज्य सरकारहरूलाई अक्सिजन, भेन्टिलेटर र आवश्यक औषधिको तयारी गर्न निर्देशन दिएको छ।

नेपालका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले खुला सिमानाका कारण सतर्कता बढाइएको जानकारी दिएका छन्। उनका अनुसार सत्रवटै स्थल नाका र तीनवटै हवाई नाकामा निगरानी कडा बनाइएको छ। साथै देशभरका प्रयोगशालाहरूलाई पनि उच्च सतर्क अवस्थामा राखिएको छ।

“हाल देखिएको संक्रमण कोभिडको पुरानै ओमिक्रोन भेरिअन्टको म्युटेसनबाट बनेको जेएन १ र यसको सब–भेरिअन्टहरू हुन्,” डा. बुढाथोकीले बताए। उनका अनुसार यो भेरिअन्ट अत्यधिक घातक नभए पनि जोखिम समूहका लागि भने गम्भीर हुन सक्छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) ले पनि भारतमा देखिएका मामिलाहरूको निगरानी गरिरहेको छ। संक्रमितमध्ये केही दीर्घरोगी र वृद्धवृद्धाहरू अस्पताल भर्ना भएका छन् भने केहीको मृत्यु पनि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च इकाइ प्रमुख डा. शेरबहादुर पुनले महामारीपछिको मानिसहरूको आवतजावत र भीडभाडका कारण संक्रमण विस्तार हुनु स्वाभाविक रहेको बताएका छन्। “हाल देखिएको भेरिअन्ट कम घातक भए पनि सङ्क्रामक छ,” उनले बताए।

कोभिडविरुद्धका खोपहरू अझै प्रभावकारी देखिएकाले पहिल्यै दुई मात्रा वा बुस्टर डोज लगाइसकेकाले अहिले नयाँ खोप लगाउनु आवश्यक नभएको मन्त्रालयको भनाइ छ। तर एक मात्रा पनि नलगाएकाहरू उच्च जोखिममा पर्ने बताइएको छ।

डा. बुढाथोकीले नेपाल सरकारसँग अहिले पर्याप्त भेन्टिलेटर, ICU, तालिमप्राप्त जनशक्ति र कार्ययोजना रहेको बताए। “तर लाखौँ संक्रमित भए भने स्वास्थ्य प्रणाली धान्न सक्दैन। त्यसैले संक्रमण रोकथाममा सबैले भूमिका खेल्नुपर्छ,” उनले भने।

डा. पुनले भिडभाडमा मास्क लगाउने, साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्य मापदण्डहरू पालन गर्न आग्रह गरेका छन्। उनले विशेषतः वृद्धवृद्धा र दीर्घरोगीहरूलाई विशेष ध्यान दिनु पर्नेमा जोड दिए।

संक्रमण फैलिएको क्षेत्रबाट आएका लक्षणयुक्त व्यक्तिले घरपरिवारसँग सम्पर्क नगरी केही दिन अलग्गै बस्नुपर्ने सल्लाह पनि स्वास्थ्य अधिकारीहरूले दिएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button