आजको मौसम : पहाडी क्षेत्रहरूमा आंशिक बदली, कोशी प्रदेशमा वर्षाको सम्भावना

हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भू-भागमा भने मनसुनी वायुको प्रभाव देखिएको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा मौसम सामान्यतः सफा रहने अपेक्षा गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
आज रातिको अवस्थामा कोशी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। रातिको समयमा कोशी प्रदेशका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।



