सशस्त्र प्रहरीद्वारा ३५ लाखभन्दा बढी मूल्यको सामान भन्सार दाखिला

भन्सार छली गरि नेपाल भित्र्याइएका रु। ३५ लाखभन्दा बढी मूल्य बराबरका सामान र सवारी साधन सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
बीरगंज महानगरपालिकास्थित विभिन्न स्थानहरूबाट खटिएको टोलीले रु ७ लाख ३९ हजार ९५० बराबरका विभिन्न प्रकारका भन्सार छलीका सामानहरू बरामद गरेको हो। ती सबै सामानहरू भन्सार दाखिल गरी कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको गाडी मोबाइल टोलीले वीरगञ्ज–२५ स्थित बहुअरी चोकमा रोकेर चेकजाँच गर्दा प्रदेश २–०३–००१ च ४१६७ नम्बरको बोलेरो पिकअप गाडीमा ब्रोइलर कुखुरा लोड गरिएको अवस्थामा फेला पारेको थियो।
उक्त गाडीको साथमा कुखुराको बिल, भीसीटीएस तथा भेटेरिनरी प्रमाणपत्र नभएको पाइएको थियो। चालकले गाडी बेवारिसे अवस्थामा छाडेर भागेपछि सशस्त्र प्रहरीले रु १ लाख ८४ हजारबराबरको कुखुरा तथा गाडी नियन्त्रणमा लिई उक्त गाडीको भन्सार मूल्याङ्कन २५ लाख कायम गरिएको छ।
कुखुरा भने आवश्यक प्रक्रिया पुरा गरी सोही दिन नष्ट गरिएको छ। त्यसैगरी, सोही गुल्मले विभिन्न सीमा नाकाबाट रु २ लाख ७३ हजार १६० बराबरका मोबाइल तथा इलेक्ट्रोनिक सामानहरू समेत नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।



