करण केसीको विस्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित, लिग–२ मा सातौं स्थानमा उक्लियो

करण केसीको विस्फोटक अर्धशतकसहितको प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार राति सम्पन्न त्रिदेशीय सिरिजको खेलमा स्कटल्याण्डलाई एक विकेटले हराउँदै रोमाञ्चक जित हात पारेको छ।
२९७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै ऐतिहासिक जित दर्ता गर्यो। नेपालको जितमा महत्वपूर्ण योगदान आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीको रह्यो। उनले ४१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ६५ रन बनाए।
नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत दिलाएका थिए। भुर्तेलले ११ चौकासहित ४४ बलमा ५३ रन बनाउँदा, आसिफले ३३ बलमा २० रनको योगदान दिए।
मध्यक्रममा भीम सार्कीले ४८ बलमा ४० रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा आउट भए। गुल्शन झाले आक्रामक प्रदर्शन गर्दै ३० बलमा तीन चौका र तीन छक्कासहित ४२ रन जोडे। तर, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र आरिफ शेख भने सस्तै पवेलियन फर्किए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९६ रन बनाएको थियो। स्कटल्याण्डका लागि चार्ली टेयरले सर्वाधिक ८० रन बनाए। उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे। फिन्ले म्याकरिथले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रनको योगदान दिए।
नेपालका तर्फबाट रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई–दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे।
यो जितसँगै नेपाल आईसीसी लिग–२ को अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ, जबकि पराजित स्कटल्याण्ड चौथो स्थानमा यथावत् रहेको छ।



