No Image Headlineअर्थ

१० महिनामा एक खर्ब ५५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार डिजेल, पेट्रोल, एलपी ग्याँस, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेलको आयात भएको हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा पाँचवटै प्रकारका पेट्रोलियम पदार्थको समग्र आयातमा १ अर्ब ३५ करोड रुपैयाँले, अर्थात् ०.८६ प्रतिशतले गिरावट आएको छ।

यद्यपि आयातमा गिरावट आउँदा पनि पेट्रोलियम पदार्थबाट संकलन हुने राजस्वमा भने उल्लेखनीय वृद्धि देखिएको छ। कार्यालयले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६४ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यो नाकाबाट ५८ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

डिजेल आयात घट्यो, राजस्व बढ्यो

भन्सार कार्यालयका अनुसार चालु आवको १० महिनामा ९ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ, जसको मूल्य ७९ अर्ब ५२ करोड रुपैयाँ बराबर छ। गत आवको सोही अवधिमा भने ८ लाख १३ हजार ८४६ किलोलिटर डिजेल, ८३ अर्ब ४७ करोड रुपैयाँमा आयात भएको थियो।

डिजेल आयातमा परिमाण र मूल्य दुवै घटे पनि यस वर्ष ३५ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको ३२ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी हो।

पेट्रोल आयातमा गिरावट, राजस्वमा वृद्धि

चालु आवको १० महिनामा ३ लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ, जसको मूल्य ३१ अर्ब ७१ करोड रुपैयाँ छ। अघिल्लो वर्ष सोही अवधिमा ३ लाख २६ हजार ३८७ किलोलिटर पेट्रोल, ३२ अर्ब ६० करोड रुपैयाँमा आयात भएको थियो।

यस वर्ष पेट्रोल आयातबाट २० अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको १८ अर्ब ७० करोड रुपैयाँभन्दा २ अर्ब बढी हो।

एलपी ग्याँस, एटिएफ र मट्टितेल आयात

एलपी ग्याँसको आयातमा पनि वृद्धि देखिएको छ। चालु आवमा ३० अर्ब २८ करोड रुपैयाँ बराबरको २६ करोड ४१ लाख ७ हजार ५४८ किलोग्राम एलपी ग्याँस आयात भएको छ। अघिल्लो वर्ष २५ अर्ब १९ करोड रुपैयाँ बराबरको २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम आयात भएको थियो। यस वर्ष एलपी ग्याँसबाट ५ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी हो।

एटिएफको आयात भने घटेको छ। चालु आवमा १ लाख ५३ हजार १९२ किलोलिटर एटिएफ, १३ अर्ब ८८ करोड रुपैयाँमा आयात भएको छ। अघिल्लो वर्ष १ लाख ४५ हजार ३३६ किलोलिटर, १५ अर्ब ४७ करोड रुपैयाँमा आयात भएको थियो। यस वर्ष २ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको २ अर्ब २२ करोड रुपैयाँभन्दा थोरै कम हो।

मट्टितेलको आयात र राजस्वमा खासै फरक देखिएको छैन। चालु आवमा ६ हजार १३० किलोलिटर मट्टितेल, ५५ करोड रुपैयाँ मूल्यमा आयात भएको छ। अघिल्लो वर्ष ५ हजार ३६० किलोलिटर, ५६ करोड रुपैयाँमा आयात भएको थियो। दुवै आवमा १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार मूल्यमा भएको अन्तर, करको दर तथा आयात प्रणालीका सुधारका कारण राजस्व संकलनमा वृद्धि भएको हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button