पत्रकार गोविन्द देवकोटा र रितेन्द्र झा ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ बाट सम्मानित

पत्रकार गोविन्द देवकोटा र रितेन्द्र झा ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्। प्रेस सेन्टर नेपाल पर्साले बिहीबार आयोजना गरेको कार्यक्रममा दुबै पत्रकारलाई नगद २१ हजार रुपैयाँसहित दोसल्ला, टिका, माला र सम्मानपत्र प्रदान गरिएको हो।
करीब तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका देवकोटा सामुदायिक रेडियो प्रसारकहरूको संस्था अकुराव का वरिष्ठ उपाध्यक्ष हुन्। उनले वीरगञ्जमा आधारित सामुदायिक रेडियो नारायणी र रेसखबर डटकम को स्थापना गरेका छन्।
त्यसैगरी, सक्रिय पत्रकारिता पुरस्कार अन्तर्गत वीरगञ्जकै पत्रकार रितेन्द्र झा पनि सम्मानित भएका छन्। उनी सामाजिक सरोकारका विषयमा कलम चलाउने पत्रकारको रूपमा चिनिन्छन्।
पुरस्कार छनोट समिति संयोजक प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेल, पर्सा अध्यक्ष शिवनाथ यादव र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल रहेको समितिले दुबै पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी र महासचिव मनोज घर्ती मगरले पत्रकारहरुलाई सम्मान गरेका थिए। अध्यक्ष गिरीले शहीद पत्रकार कृष्ण सेन इच्छुकको स्मरण गर्दै आजको समय पनि सत्य–तथ्यमा आधारित स्वतन्त्र पत्रकारिताको खाँचो रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव दीपेन्द्र चौहानले पत्रकारितालाई समाजपरक बनाउनु पर्ने धारणा राखे। महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगरलगायतले पुरस्कृत पत्रकारहरुलाई बधाई दिएका थिए।



