पर्साको पोखरियामा भारतीय महावणिज्य दूतावासको विशेष योग कार्यक्रम, योग दिवसको विशेष प्रचार–प्रसार

भारतको महावाणिज्य दूतावास, वीरगञ्जले पर्साको पोखरिया नगरपालिकाको सहकार्यमा र जिल्ला उच्चागल रामदेव कलवार माविको साझेदारीमा ११औं अन्तर्राष्ट्रिय योग दिवसको प्रचार–प्रसारका लागि विशेष योग कार्यक्रमको आयोजना गरेको छ।
सो कार्यक्रमको उद्देश्य शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यका लागि योगको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु रहेको थियो। भारतको महावाणिज्य दूतावासको पहलमा आयोजित कार्यक्रममा स्थानिय जनप्रतिनिधि, विद्यालयका विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधिहरू, स्कुल व्यवस्थापन समिति तथा पाखरिया नगरपालिकाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहानले उपस्थिति जनाएका थिए भने पूर्व नगरप्रमुख श्री दीपनारायण रौनियार विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले योग अभ्यासको फाइदाबारे प्रकाश पार्दै एक पृथ्वी, एक स्वास्थ्य भन्ने यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मूल नाराको महत्त्वबारे चर्चा गरे।
नगरप्रमुख श्री चौहानले मानसिक र शारीरिक स्वास्थ्यका लागि योग तथा आयुर्वेदको भूमिकालाई विशेष जोड दिँदै प्रत्येक घरमा नियमित रूपमा योग अभ्यास गरिनुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा २५० भन्दा बढीको सहभागिता थियो ।




