No Image Headlineअन्तराष्ट्रिय

रुसको भीषण हवाई आक्रमणपछि ट्रम्पको कडा टिप्पणी: “पुटिन बहुलठ्ठी बने”

युक्रेनमाथि रुसले हालसम्मकै सबैभन्दा तीव्र हवाई हमला गरेपछि अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तुष्टि जनाएका छन्। सामान्यतया पुटिनको आलोचना नगर्ने ट्रम्पले यसपटक तीव्र प्रतिक्रिया दिँदै पुटिन “निकै बहुलठ्ठी बनेको” टिप्पणी गरेका छन्।

ट्रम्पले भने, “म उनलाई धेरै पहिलादेखि चिन्छु। हाम्रो सम्बन्ध सधैं राम्रै रह्यो। तर अहिले उनी सहरमा रकेट प्रहार गर्दैछन्, मानिस मार्दैछन्। मलाई त्यो पटक्कै मन पर्दैन।”

आइतवार राति रुसले युक्रेनमाथि गरिएको भीषण हवाई हमलामा कम्तीमा १२ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। रुसले एकै रातमा ३६७ वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। यो आक्रमण फेब्रुअरी २०२२ मा सुरु भएको युद्धयता एकै रातमा भएको सबैभन्दा सघन हवाई हमला भएको हो।

युक्रेनी सहरहरूमा सोमबार बिहान समेत हवाई आक्रमणको चेतावनी स्वरूप साइरन बजेको सुनिएको छ। पूर्वोत्तर खार्किभमा एक नाबालकसहित तीन जनाको मृत्यु भएको पुष्टि नगरप्रमुख इहोर तेरखोभले गरेका छन्। जापरिज्या क्षेत्रमा पनि दुई जना घाइते भएका छन्।

यता, रुसी रक्षा मन्त्रालयले युक्रेनबाट रुसतर्फ प्रक्षेपण गरिएका ९६ वटा ड्रोनमध्ये ६ वटा मस्कोको आकाशमै नष्ट गरिएको दाबी गरेको छ। मस्कोका मेयर सर्गेइ सोब्यानिनले दुई ड्रोन हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको जानकारी दिएका छन्। यद्यपि ओरिओल र र्‍याजान क्षेत्रहरूमा भने केही मानिस घाइते भएको पुष्टि गरिएको छ।

ट्रम्पले न्यूजर्सीमा पत्रकारहरूसँग कुरा गर्दै रुसमाथि प्रतिबन्ध लगाउने विषयमा भने, “पक्कै पनि” सम्भावना रहेको संकेत दिएका छन्। यद्यपि उनले अहिलेसम्म त्यस्तो कुनै औपचारिक कदम चालेका छैनन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा लेख्दै पुटिनमाथि थप आक्रोश पोखेका छन्। उनले लेखेका छन्, “मैले सधैं भनिरहेकै थिएँ— पुटिन पूरै युक्रेन कब्जा गर्न चाहन्छन्, सानो भाग मात्र होइन। त्यो कुरा अहिले प्रमाणित हुँदैछ। तर यदि उनले त्यसो गरे भने, त्यसले अन्ततः रुसको पतन ल्याउनेछ।”

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि पनि टिप्पणी गर्दै भनेका छन्, “उनको बोलीले सँधै समस्या उत्पन्न गर्छ। उनले आफ्नो देशको हित हुने व्यवहार गरेका छैनन्। त्यो रोकिनु राम्रो हो।”

यसैबीच, युरोपेली मुलुकहरूले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् भने अमेरिकाले भने शान्तिवार्ताको प्रयास जारी राख्ने जनाएका छन्। तर वार्ता प्रगति नभए “त्यो प्रयास परित्याग गर्नुपर्ने” चेतावनी पनि दिएको छ।

गत साता ट्रम्प र पुटिनबीच अमेरिकाले प्रस्ताव गरेको युद्धविरामसम्बन्धी विषयमा दुई घण्टे फोनवार्ता भएको जानकारी पनि प्राप्त भएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button