No Image Headlineअन्तराष्ट्रिय

रुसको तीव्र हवाई आक्रमण: युक्रेनमा भीषण क्षति, १४ जनाको मृत्यु

रुसले युक्रेनका विभिन्न क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गर्दै एकै रातमा दर्जनौँ ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको छ। शनिबार राति भएको आक्रमणमा तीनजना बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

क्षेत्रीय अधिकारीहरू र आपत्कालीन सेवा निकायहरूले दिएको जानकारीअनुसार, रुसले पछिल्ला ४८ घण्टामा युक्रेनमाथि दोस्रो ठूलो आक्रमण गरेको हो। एक दिनअघि मात्रै राजधानी किएभले युद्धको सुरुदेखिकै भीषण आक्रमणमध्ये एक भोगेको थियो।

युद्धविराम प्रस्ताव अस्वीकार गर्दै रुसले टर्कीमा दुई देशबीच भएको कैदी साटासाट वार्तापछि आक्रमणलाई तीव्र बनाएको हो। सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि सुरु भएको पूर्णस्तरको अतिक्रमणपछिको पछिल्लो घटनाक्रमसँगै रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको बताइएको छ, जसमा सन् २०१४ मा रुसद्वारा गाभिएको क्राइमिया प्रायःद्वीप पनि पर्छ।

हवाई आक्रमणको विवरण
युक्रेनी हवाई बलका अनुसार शनिबार बिहान ८:४० बजेयता रुसले विभिन्न प्रकारका ३६७ वटा क्षेप्यास्त्र, अनम्यान्ड एरियल भेहिकल (यूएभी) र ड्रोन प्रयोग गरी हमला गरेको छ। तीमध्ये ४५ वटा क्रूज मिसाइल खसालिएको र २६६ यूएभी निस्तेज पारिएको जनाएको छ।

देशभर २२ स्थानमा आक्रमण भएकोमा १५ स्थानमा यूएभी तथा मिसाइलहरू खसालिएका छन्। किएभ क्षेत्र, राजधानी किएभ, खार्किभसहित अन्य शहरहरूमा ठूलो क्षति भएको जनाइएको छ।

किएभ क्षेत्रमा मात्र चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। राजधानीमा आवासीय भवनमा आगलागी भएको छ, सयौँ नागरिक मेट्रो स्टेशनमा आश्रय लिन बाध्य भएका छन्। खार्किभमा पनि तीन जना घाइते भएका छन्।

रुसमा पनि युक्रेनी हमला
रुसी रक्षा मन्त्रालयले जनाएको छ कि युक्रेनले मध्यरातदेखि बिहान ७ बजेसम्म ११० वटा ड्रोन र विभिन्न क्षेप्यास्त्रहरू प्रहार गरेको छ। तीमध्ये मस्को, टुला र क्राइमियासहित १२ क्षेत्रमा हमलाको प्रयास भएको बताइएको छ। मस्कोमै १२ वटा ड्रोन खसालिएको छ। टुलामा ड्रोनका टुक्रा एक आवासीय भवनमा खसेर झ्याल फुटेको जानकारी छ, तर कोही घाइते भएको छैन।

कैदी साटासाटपछि आक्रमण तीव्र
टर्कीमा भएको द्विपक्षीय वार्तामा युक्रेन र रुसले ३९०–३९० जना कैदी साटासाट गरेका थिए। यो साटासाट सन् २०२२ यता कै सबैभन्दा ठूलो मानिन्छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, सम्झौताअनुसार शनिबार थप ३०७ युक्रेनी कैदी स्वदेश फर्किएका छन्।

तीन वर्षपछि पहिलोपटक प्रत्यक्ष वार्ता गरेका दुई देशका प्रतिनिधिहरूबीच कैदी साटासाटसँगै युद्धविरामसम्बन्धी छलफल पनि भएको जनाइएको छ। केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युद्धविरामबारे दुई घण्टा लामो टेलिफोन संवाद भएको थियो।

युद्धविराम प्रस्तावमा अझै सहमति भइनसकेको बेला दुबै पक्षबाट आक्रमण तीव्र पारिएको छ। यो अवस्थाले युद्ध अन्त्यको आशामा थप अनिश्चितता पैदा गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button