बर्ड फ्लूको जोखिमः वैज्ञानिकको चेतावनी, अर्को महामारी निम्तिने खतरा

अमेरिकी वैज्ञानिकहरूले हाल फैलिएको बर्ड फ्लू (एभिअन इन्फ्लुएन्जा) महामारीमा रूपान्तरण हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार यो रोगले हाल पशु–पंक्षीमा व्यापक रूपले संक्रमण फैलाइरहेको छ र नियन्त्रण नभए अर्को महामारी निम्त्याउने खतरा छ।
अनुसन्धानकर्ताहरूका अनुसार उग्र प्रजातिको एभिअन इन्फ्लुएन्जा अहिले अस्ट्रेलियाबाहेक सबै महादेशमा फैलिसकेको छ। यो एन्टार्कटिकाका पेन्ग्विनदेखि लिएर मध्यपूर्वका उँटसम्म र अमेरिकी गाईबस्तुहरूमा समेत फैलिएको पाइएको छ। अमेरिकाको कृषि मन्त्रालयले दिएको जानकारीअनुसार बर्ड फ्लू हालसम्म देशका सबै ५० राज्यका जङ्गली चरा र स्तनधारी प्रजातिमा देखा परिसकेको छ भने १,००० भन्दा बढी गाईबस्तुमा संक्रमण पुष्टि भइसकेको छ।
मानवमा संक्रमण र मृत्यु
हालसम्म विश्वभर ७० जना मानिसहरूमा संक्रमण देखिएको छ, जसमा एक जनाको मृत्यु भइसकेको छ। सन् २००३ यता १५ देशमा ७०० भन्दा बढी मानिस संक्रमित भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। इन्डोनेशिया, भियतनाम र इजिप्टमा सबैभन्दा बढी संक्रमण देखिएको थियो।
“खतराको संकेतलाई बेवास्ता”
महामारीविज्ञ तथा प्राध्यापक डा. केट्लिन रिभर्सका अनुसार संक्रमण रोक्ने मौका अमेरिका नेतृत्वले गुमाएको छ। “यो अस्थायी समस्या होइन। एउटा सानो त्रुटिले यो रोग विस्फोटक रूपमा फैलिन सक्छ,” उनले भनिन्। अहिले अमेरिकामा घरपालुवा जनावर एक राज्यबाट अर्को राज्यमा लैजाँदा पनि पर्याप्त नियमन नभएको उनी बताउँछिन्।
विस्तार हुँदै गइरहेको संक्रमण
पछिल्लो समय बर्ड फ्लू फरक–फरक प्रजातिका जनावरहरूमा तीव्र गतिमा फैलिरहेको छ। “यो रोग परेवा, हाँस, गाईदेखि लिएर उँटसम्म सर्दैछ, जुन जीवविज्ञानको दृष्टिमा निकै ठूलो फड्को हो,” डा. रिभर्स बताउँछिन्। उनी भन्छिन्, “जति लामो समय यो भाइरस जीवहरूमा घुमिरहन्छ, त्यो बेला यसले अनुकूलनको मौका पाउँछ।”
खोपबारे विवाद
बर्ड फ्लूको नियन्त्रणका लागि खोप प्रयोगको विषयमा विभिन्न देशहरूमा बहस चलिरहेको छ। फ्रान्सले हाँसहरूमा खोप प्रयोग गर्न थालेको छ भने युरोपेली संघले खोपसम्बन्धी निर्देशिका तयारी गर्दैछ। तर अमेरिकाले पन्छीमा खोप प्रयोग गर्दा मासु निकासीमा असर पर्ने भन्दै विरोध जनाएको छ। तथापि हालै अमेरिकी कृषि मन्त्रालयले पालिएका पन्छीहरूमा खोप प्रयोगको सर्तसहित अनुमति दिएको छ।
तत्काल खोप प्रयोगको तयारी
टोरन्टो विश्वविद्यालयका प्राध्यापक डा. कमरान खानका अनुसार अमेरिकी लगायत अन्य केही मुलुकले उच्च जोखिममा रहेका मानिसहरूका लागि एभिअन फ्लूविरुद्धको खोप संकलन गरिरहेका छन्। “यदी महामारी सुरु भयो भने अहिले उपलब्ध खोप प्रारम्भिक चरणमा उपयोगी हुन सक्छ,” उनी भन्छन्।
वैज्ञानिकहरूको चेतावनी
वैज्ञानिकहरूका अनुसार यदि यो भाइरस मान्छे–मान्छेबीच सर्न थालेमा स्थिति गम्भीर बन्न सक्छ। चराहरूको बसाइँसराइका कारण संक्रमण अन्यत्र फैलिन सक्ने सम्भावना पनि बढेको छ। “हामीले अहिले नै सावधानी अपनाएनौँ भने भविष्यमा ठूलो महामारी निम्तिन सक्छ,” डा. रिभर्स चेतावनी दिन्छिन्।
विश्व वैज्ञानिक समुदायले बर्ड फ्लूको सम्भावित महामारीलाई गम्भीर रूपमा लिन आग्रह गर्दै नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समन्वय र तयारी बढाउन आह्वान गरेका छन्। संक्रमण फैलिन नदिन तत्काल कदम चाल्नुपर्ने चेतावनी दिँदै उनीहरूले सरकारहरूलाई सचेत गराएका छन्।



