देशका अधिकांश भागमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशभर हाल पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।



उक्त प्रदेशहरूका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम मात्रामा वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने चेतावनीसमेत दिइएको छ।



आगामी आइतबार रातिसमेत कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्य रहने अपेक्षा गरिएको छ।
महाशाखाले यस्ता मौसमी अवस्थाका कारण पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।