अर्थखबर फटाफट

वीरगञ्जका आठ स्थानमा अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न सिसी क्यामेरा जडान

अवैध तस्करी तथा चोरी निकासी नियन्त्रणका लागि वीरगञ्जका विभिन्न आठ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार सोमबार छपकैया, सिर्सिया, बलिरामपुर र अलौंलगायत क्षेत्रमा दुई–दुईवटा गरी आठवटा सिसी क्यामेरा जडान गरिएको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए ।

सिसी क्यामेरा जडानका क्रममा वीरगञ्ज महानगरपालिका अन्तर्गतका केही स्थानमा भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीलाई अवरोध गरिएको थियो। त्यसपछि भन्सार कार्यालयका प्रमुख दीपक लामिछाने, प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमाललगायतको उपस्थितिमा क्यामरा जडान गरिएको थियो।

छपकैया, सिर्सिया, बलिरामपुर र अलौंमा दुई–दुईवटा सिसी क्यामेरा जडान गरिएको पर्साका प्रजिअ गणेश अर्यालले जानकारी दिएका छन्। प्रजिअ अर्यालका अनुसार सिसी क्यामेरा जडानसँगै तस्करी नियन्त्रणमा मनोवैज्ञानिक रूपमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

भन्सार कार्यालयका प्रमुख लामिछानेले पहिलो चरणमा आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेर सिसी क्यामेरा जडान गरिएको उल्लेख गरे। उनका अनुसार जोखिमयुक्त क्षेत्रहरूमा सिसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिइनेछ।

लामिछानेले आगामी दिनमा पर्सा र बाराका छोटी भन्सार कार्यालय तथा अन्य संवेदनशील सीमावर्ती क्षेत्रहरूमा पनि सिसी क्यामेरा जडान गर्ने योजना रहेको जानकारी दिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button