No Image Headlineअर्थविशेष

बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत् संकट, उत्पादनमा गम्भीर असर

बारा–पर्सा औद्योगिक कोरिडोरमा बढ्दो विद्युत् कटौती र पटक–पटकको ट्रिपिङ्गका कारण उद्योगहरूको उत्पादन गम्भीर रूपले प्रभावित भएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार, हालको विद्युत् आपूर्तिको अवस्थाले उद्योगहरू अस्तव्यस्त बनेका छन् र संघले यसप्रति सरकारको ध्यानाकर्षण गराइसकेको छ।

सुक्खा मौसमका कारण जलविद्युत् उत्पादनमा आएको गिरावटपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपूर्ति कटौती गर्दै घरायसी उपभोक्तालाई प्राथमिकता दिइरहेको छ। कोरिडोरका उद्योगीहरूका अनुसार, हाल दैनिक १२ घण्टाभन्दा बढी समय विद्युत् आपूर्ति हुँदैन, र आपूर्ति भएको समयमा पनि दर्जनौं पटक ट्रिपिङ्ग हुने गुनासो बढ्दो छ।

“१०–१२ घण्टाभन्दा बढी लाइन नै आउँदैन, त्यसमा पनि प्राधिकरणले आधा लोडमै उद्योग चलाउन निर्देशन दिएको छ,” एक उद्योगीले बताए। नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश उद्योग समितिका अध्यक्ष दीपेश अग्रवालले विद्युत् आपूर्तिमा भएको अव्यवस्थाले उत्पादन तहस–नहस भएको बताए। उनका अनुसार, कच्चा पदार्थ बिग्रन थालेको र त्यसले उद्योगलाई ठूलो नोक्सानी बेहोर्नु परेको छ।

संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालका अनुसार, औद्योगिक फिडरहरूमा दिनभरिमा १४–१५ पटकसम्म ट्रिपिङ्ग हुने गरेको छ, जसका कारण उपकरणमा समेत क्षति पुग्ने गरेको छ। विद्युत् नियमित नहुँदा उत्पादन बन्द हुनुका साथै सामग्री बर्बाद हुने क्रम बढेको छ।

अध्यक्ष गौतमले विद्युत् उद्योगको लागि कच्चा पदार्थ जत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै, आपूर्ति नियमित गर्न सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्। उनले वर्तमान प्रसारण संरचना पुरानो र कमजोर भएकाले ट्रिपिङ्गको समस्या बढेको बताएका छन्।

वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुवेले सुक्खा याममा नदीको बहाव घटेसँगै उत्पादनमा कमी आएको र भारतबाट समेत आपूर्ति घटेपछि उद्योगलाई कटौती गरेर घरायसी ग्राहकलाई प्राथमिकता दिनुपरेको बताए।

औद्योगिक क्षेत्रका साथै घरायसी उपभोक्ता पनि अस्वस्थ आपूर्तिको मारमा परेका छन्। ट्रान्सफर्मर पड्किने, ट्रिपिङ्ग बढ्ने र लामो समयसम्म लाइन बन्द हुने समस्याले सर्वसाधारण पनि हैरान छन्।

उद्योगी र व्यवसायीहरूले सरकारसँग तत्काल समाधानको माग गरेका छन्, अन्यथा उद्योग सञ्चालन असम्भव बन्ने खतरा देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button