कुलेखानी–कलङ्की–हुमाने सडक १९ दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

काठमाडौँ–हेटौँडा जोड्ने प्रमुख सडकमार्ग अन्तर्गतको कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड आज (शुक्रबार)देखि १९ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासनसँगको समन्वयमा उक्त सडक मर्मत तथा कालोपत्रका लागि बन्द गर्न लागिएको जानकारी दिएका छन्।
प्रहरी प्रधान कार्यालयद्वारा बिहीबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ कि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित उक्त सडकखण्ड यही जेठ २ गतेदेखि २० गतेसम्म मर्मतका लागि बन्द हुनेछ।
सडक बन्दका कारण काठमाडौँ–हेटौँडा वा हेटौँडा–काठमाडौँ यात्रा गर्ने सवारीसाधनले वैकल्पिक रूपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध छ।
स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा सवारी आवागमन पूर्णरूपमा बन्द गरी निर्माण कार्य अघि बढाउने निर्णय गरिएको जनाइएको छ। प्रहरी प्रधान कार्यालयले सर्वसाधारणलाई असुविधा नहोस् भन्ने उद्देश्यले समयमै सूचना सार्वजनिक गरेको जनाएको छ।



