खबर फटाफटदेश

अन्तर्राष्ट्रिय परिवार दिवस आज विश्वभर मनाइँदै

परिवारसँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज अन्तर्राष्ट्रिय परिवार दिवस विश्वभर विविध कार्यक्रमसहित मनाइँदैछ। “दिगो विकासका लागि परिवारमुखी नीति” भन्ने नाराका साथ मनाइँदै गरेको यस दिवसको उद्देश्य परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसांख्यिकीय प्रक्रियाबारे जनचेतना फैलाउने र परिवार लक्षित नीतिबाट दिगो विकासका लक्ष्य हासिल गर्ने हो।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि प्रत्येक वर्ष मे १५ मा यो दिवस मनाउने गरिएको हो। परिवारमार्फत गरिबी, भेदभाव, दुर्व्यवहारको अन्त्य र उपचारको अभावमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्नुका साथै वातावरणीय विनाश रोक्न समेत परिवारको भूमिकालाई केन्द्रमा राखेर यो दिवस मनाइन्छ।

परिवारसँग सम्बन्धित विषयमा ध्यान दिन संयुक्त राष्ट्रसंघले सन् १९८० को दशकदेखि पहल गर्दै आएको हो। सन् १९८३ मा आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले “विकास प्रक्रियामा परिवारहरूको भूमिका” विषय महासचिवसमक्ष प्रस्ताव प्रस्तुत गरेपछि सन् १९८५ मे २९ मा उक्त विषयलाई महासभाको अस्थायी एजेन्डामा समावेश गरिएको थियो।

सामाजिक विकास आयोगको सिफारिसकै आधारमा सन् १९८९ डिसेम्बर ९ मा संयुक्त राष्ट्र महासभाले अन्तर्राष्ट्रिय परिवार वर्षको घोषणा गरेको थियो भने सन् १९९३ मा हरेक वर्ष १५ मेलाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय गरिएको हो।

यसैबीच, आगामी नोभेम्बर २०२५ मा कतारमा “दिगो विकाससम्बन्धी परिवारमुखी नीतिहरूः सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन” आयोजना हुने भएको छ। संयुक्त राष्ट्रसंघका अनुसार उक्त सम्मेलनले सन् २०३० सम्म दिगो विकास लक्ष्यहरू हासिल गर्न परिवारहरूको भूमिकालाई थप उजागर गर्नेछ।

सन् २०१५ सेप्टेम्बर २५ मा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूले दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य र पारस्परिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। न्युयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयमा आजका दिन विशेष कार्यक्रमहरू आयोजना गरी दिवस मनाइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button