अन्तराष्ट्रिय

युक्रेन–रुस शान्ति वार्ता टर्कीमा हुँदै, पुटिन अनुपस्थित रहने

युक्रेन र रुसबीच बिहीबार टर्कीको इस्तानबुलमा शान्ति वार्ता हुन लागेको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आह्वानमा वार्ता आयोजना गरिएको हो। तर, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन भने वार्तामा सहभागी नहुने क्रेमिलिनले स्पष्ट पारेको छ।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सल्लाहकार भ्लाडिमिर मेडिन्सकीले गर्ने क्रेमिलिनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। जेलेन्स्कीले यसअघि पुटिनसँग आमनेसामने वार्ता गर्न चाहेको बताएका थिए। यसै क्रममा जेलेन्स्की बिहीबार टर्कीमै हुनेछन्, जहाँ उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

सन् २०१९ को डिसेम्बरपछि पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष भेट भएको छैन। सन् २०२२ को मार्चमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुई पक्षबीच वार्ता प्रयास भएको थियो, तर त्यसपछि रुसले युक्रेनमाथि आक्रमण थप तीव्र बनाएको थियो। पछिल्लो एक वर्षमा रुसले युक्रेनको पूर्वी भूभागमा ठूलो क्षति पुर्‍याएको छ।

गत शनिबार किभमा युरोपेली नेतासँगको भेटपछिको सहमति अनुसार ३० दिने युद्धविरामको प्रस्ताव पुटिनलाई गरिएको थियो। सोही अनुरोधलाई आधार बनाएर पुटिनले वार्ताको आह्वान गरेका हुन्। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जेलेन्स्कीलाई वार्ताको प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए, जसपश्चात् जेलेन्स्की वार्तामा सहभागी हुने बताएका हुन्।

यता, अमेरिकी विदेशमन्त्री मार्क रुबियो पनि वार्ताअघि टर्की पुग्ने कार्यक्रम छ। उनी शुक्रबार इस्तानबुल पुग्नेछन् र त्यहाँ नाटो तथा युरोपेली समकक्षीसँग युद्धविरामको खाका तयार गर्न छलफल गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button