अन्तराष्ट्रियमुख्य खबर

भारत–पाकिस्तान तनाव चुलिँदै, अहिलेसम्म केके भयो ?

भारत र पाकिस्तानबीचको तनाव चरम बिन्दुतर्फ उन्मुख देखिएको छ। शनिबार बिहान पाकिस्तानले भारतले आफ्ना तीनवटा हवाई अड्डामा आक्रमण गरेको आरोप लगाउँदै जवाफी कारबाही सुरु गरेको जनाएको छ। पाकिस्तानले उक्त कारबाहीलाई “अपरेसन बुनयान मरसूस” नाम दिएको छ।

पाकिस्तानी सेनाले एक भारतीय हवाई अड्डा र अन्य सैन्य संरचनाहरूलाई निशाना बनाएको दाबी गरेको छ। श्रीनगर विमानस्थल नजिक रहेका एक प्रत्यक्षदर्शीले बिहानै एक जेट विमान नजिकैबाट उडेपछि ठूलो विस्फोटको आवाज आएको बीबीसीलाई बताएका छन्।

भारतीय वायुसेनाका विङ कमाण्डर व्योमिका सिंह र विदेशसचिव विक्रम मिस्रीले भने पत्रकार सम्मेलनमार्फत पाकिस्तानका सबै दाबी अस्वीकार गर्दै भारतका सैन्य पूर्वाधारमा कुनै क्षति नभएको बताएका छन्।

पाकिस्तानले दाबी गरेका मध्ये एक भारतीय आक्रमण निसाना बनेको भनिएको नूर खान एयरबेस रावलपिन्डीमा पर्छ, जुन इस्लामाबादबाट १० किलोमिटर टाढा रहेको छ। बिहान करिब ३:१५ बजे उक्त स्थानमा आक्रमण भएको जनाइएको छ।

यसपछि पाकिस्तानको उड्डयन निकायले मुलुकको सम्पूर्ण हवाई क्षेत्र दिउँसोसम्मका लागि बन्द गरेको छ। भारतले पनि उत्तरी र पश्चिमी क्षेत्रमा पर्ने ३२ वटा विमानस्थलहरू १५ मेको बिहानसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

भारतीय सेनाले पाकिस्तानले तीव्र गतिको क्षेप्यास्त्र प्रयोग गरे पनि आफूहरूले निष्क्रिय पारेको बताउँदै सामाजिक सञ्जालमार्फत पाकिस्तानले उत्तेजनापूर्ण कारबाही थालेको आरोप लगाएको छ। पश्चिमी सीमामा व्यापक रूपमा ड्रोन आक्रमण भएको र अमृतसरको खासा क्यान्टोनमेन्ट क्षेत्रमा शत्रुपक्षका सशस्त्र ड्रोनहरू देखिएको पनि उल्लेख गरिएको छ।

“हाम्रा हवाई प्रतिरक्षा एकाइहरूले ती ड्रोनहरूलाई तुरुन्तै ध्वस्त पारे,” सेनाको विज्ञप्तिमा भनिएको छ। “भारतको सार्वभौमसत्ता उल्लङ्घन गर्ने र नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको प्रयास अस्वीकार्य छ,” विज्ञप्तिमा जोड दिइएको छ।

एलओसी (नियन्त्रण रेखा) आसपासका क्षेत्रहरूमा विस्फोटको आवाज सुनिएको बीबीसीका पत्रकारहरूले पुष्टि गरेका छन्। यद्यपि ती विस्फोटनको ठ्याक्कै स्रोत भने खुलाइएको छैन।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रको परमाणु अस्त्र नियमन गर्ने निकाय “नेशनल कमाण्ड अथोरिटी” को आपतकालीन बैठक बोलाएका छन्। नूर खान एयरबेस नजिकै सुरक्षा अधिकारीहरू भेला भएको तस्वीरहरू सार्वजनिक भएका छन्।

पाकिस्तानी सेनाले भारतको एस-४०० हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गर्दै साइबर आक्रमणमार्फत भारतका शीर्ष वेबसाइटहरू, र सत्तारुढ भारतीय जनता पार्टीको डिजिटल पूर्वाधार ह्याक गरेको बताएको छ। यद्यपि यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

भारतले यस विषयमा हालसम्म कुनै आधिकारिक टिप्पणी दिएको छैन। गत २२ एप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको हमलामा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएपछि सुरु भएको यो तनाव अहिले सैन्य टकरावमा रुपान्तर हुँदै गएको छ।

विशेषज्ञहरूले दुई परमाणु शक्ति सम्पन्न राष्ट्रबीच बढ्दो सैन्य तनावलाई “गम्भीर र खतरनाक” भन्दै चासो व्यक्त गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button