देशमुख्य खबर

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति बुधबार सार्वजनिक हुने

शिक्षक आन्दोलन चर्किएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको छ। बोर्डले नयाँ परीक्षा तालिका बुधबार सार्वजनिक गर्ने जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा तालिका प्राविधिक कारणले परिमार्जन गरिएको जानकारी दिए। “तयारीका सन्दर्भमा प्राविधिकरूपमा पनि कतिपय कुराहरू मिलाउनु पर्ने भएकाले हामीले परीक्षाको मिति परिवर्तन गरेका छौँ,” उनले भने।

यसअघि बोर्डले राज्यका तीनै तहको संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको थियो। तर, आन्दोलनरत शिक्षकहरूले परीक्षा सञ्चालनमा असहयोग गर्ने घोषणा गरेपछि स्थिति अन्योलपूर्ण बनेको थियो।

प्रधानमन्त्रीकै निर्देशनमा परीक्षा स्थगित

शिक्षकहरूको असहयोगका बीच सोमबार साँझ प्रधानमन्त्रीले परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए। यता, मङ्गलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले तोकिएको मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि परिस्थिति प्रतिकूल बनेपछि बोर्ड पछि हट्न बाध्य भएको हो।

नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बोर्डसँग दुई साता परीक्षा सार्न आग्रह गरिएको बताएकी छन्। “केही निकास आउला, हामी पनि विद्यालय फर्कन्छौँ अनि परीक्षा लिऔँला,” उनले भनिन्।

देशभरका १,५९० परीक्षा केन्द्रमध्ये अधिकांश केन्द्रका केन्द्राध्यक्षलाई बोर्डले आवश्यक अभिमुखीकरण तालिम दिन सकेको थिएन। आन्दोलनमा रहेका धेरैजसो प्रधानाध्यापकहरूको अनुपस्थितिले केन्द्राध्यक्ष व्यवस्थापनमा समस्या आएको बोर्डले जनाएको छ।

परीक्षा केन्द्रमा प्रश्नपत्र डाउनलोड गर्न केन्द्राध्यक्षको मोबाइलमा प्राप्त हुने ओटीपी आवश्यक हुने व्यवस्था रहेकाले, सम्बन्धित शिक्षकहरूको अनुपस्थितिमा प्रश्नपत्र नै उपलब्ध गराउन समस्या देखिएको हो।

बोर्डले भने विद्यालयले प्रवेशपत्र नपठाए पनि सिम्बोल नम्बर र विषयसहितको वैकल्पिक ‘ट्रिप्लिकेट’ फारामबाट परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ।

परीक्षा निरीक्षक व्यवस्थापनको चुनौती

शिक्षकहरूको अनुपस्थितिमा बोर्डले केन्द्राध्यक्ष र परीक्षा निरीक्षकको व्यवस्थापनका लागि लोकसेवा परीक्षाको अनुभव भएका सरकारी कर्मचारीलाई खटाउने तयारी गरिरहेको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अन्तिम घडीसम्म शिक्षकहरूको सहयोगको अपेक्षा गरिएको छ।

शिक्षामन्त्रीको राजीनामाले असर

शिक्षक आन्दोलनबीच शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण देखाउँदै राजीनामा दिएपछि संसद्मा विद्यालय शिक्षा विधेयकबारे भइरहेको छलफल प्रभावित भएको छ। यसले कक्षा १२ को परीक्षा व्यवस्थापनमा थप अन्योल सिर्जना गरेको अधिकारीहरूको भनाइ छ।

शिक्षकहरूको आन्दोलन अझै जारी रहेकाले परीक्षा सञ्चालन सहज नहुने देखिएको छ। बोर्डले बुधबार नयाँ तालिका सार्वजनिक गर्ने जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button