किन ओरालो लाग्यो अमेरिकी शेअर बजार ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका प्रमुख विरुद्ध आक्रामक टिप्पणी गरेपछि अमेरिकाे स्टक बजार फेरि ओरालो लागेको छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत सङ्घीय रिजर्भका अध्यक्ष जेरोम पावेलमाथि ब्याजदरको दायरा घटाउन ढिलाइ गरेको भन्दै आलोचना गरेका छन्। उनले अर्थतन्त्रलाई सबल बनाउन ब्याजदर तत्काल घटाउनुपर्ने माग गरेका थिए।
पावेलको ढिलासुस्तीले अर्थतन्त्र झनै कमजोर बनेको दाबी गर्दै ट्रम्पले उनलाई “सबैभन्दा असफल” भन्दै ‘मिस्टर लुजर’को उपमा दिएका छन्।
यस घटनापछि अमेरिकाको प्रमुख सेयर सूचकांकहरूमा गिरावट आएको छ। एस एन्ड पी ५००, जसले अमेरिकाे पाँच सय ठूला कम्पनीहरू ट्र्याक गर्छ, २.४ प्रतिशतले घटेको छ। वर्षको सुरुवातदेखि यसको समग्र मूल्यमा १२ प्रतिशतको गिरावट आएको छ।
त्यस्तै, डा. जोन्स औद्योगिक औसत २.५ प्रतिशतले घटेको छ, जुन यस वर्ष १० प्रतिशतको समग्र गिरावट हो।
नास्डक सूचकांकमा पनि २.८ प्रतिशतको गिरावट आएको छ, र यस वर्ष यो सूचकांक १८ प्रतिशतले घटिसकेको छ।



