अमेरिका-चीन व्यापार युद्ध : बन्दरगाह शुल्क बढाउने अमेरिकी रणनीति, विश्व अर्थतन्त्रमा कस्तो असर ?

अमेरिकाले चिनियाँ पानीजहाजहरूमा नयाँ बन्दरगाह शुल्क लगाउने योजना सार्वजनिक गरेको छ, जसको उद्देश्य आफ्नै जलयात्रा उद्योगलाई पुनर्जीवित गर्नु र चीनको प्रभुत्वलाई चुनौती दिनु हो। यो योजना अक्टोबर महिनाको मध्यदेखि लागू हुनेछ, जसअनुसार चिनियाँ मालवाहक पानीजहाजका मालिक तथा सञ्चालकहरूले प्रतिटन कार्गोबापत ५० अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ। यो शुल्क हरेक वर्ष ३० डलरका दरले आगामी तीन वर्षसम्म बढ्दै जानेछ।
यो योजना राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सार्वजनिक भएको हो, जसको व्यापारिक नीतिहरूले विश्वव्यापी व्यापार प्रणालीलाई प्रभाव पारेको मानिन्छ। यद्यपि, पहिले प्रस्तावित शुल्क दरहरूभन्दा हालको योजना केही हल्का देखिन्छ।
चिनियाँ विदेश मन्त्रालयले भने अमेरिकाको यो कदमले अमेरिकी उपभोक्ताहरूलाई महँगीको मारमा पार्ने र आफ्नै उद्योगलाई पनि खासै फाइदा नहुने जिकिर गरेको छ। तर, अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) का अनुसार चीनले जलयात्रा क्षेत्रमा आफ्नो प्रभुत्व बढाउँदै अमेरिकी कम्पनी, कामदार र अर्थतन्त्रलाई क्षति पुर्याएको छ।
नयाँ नियमअनुसार, चिनियाँ पानीजहाजहरूमा लाग्ने शुल्क उनीहरूले बोक्ने कार्गोको तौल तथा कन्टेनर वा सवारीसाधनको आधारमा लाग्नेछ। चीनमा निर्मित पानीजहाजमा पनि प्रतिटन १८ डलर वा प्रतिकन्टेनर १२० डलर शुल्क तोकिएको छ, जुन आगामी तीन वर्षसम्म क्रमशः वृद्धि हुनेछ। साथै, अमेरिकामा निर्माण नभएका कार बोक्ने जहाजमा प्रति सवारीसाधन १५० डलर शुल्क लाग्नेछ।
योजना अनुसार, कुनै पनि पानीजहाजले वर्षमा अधिकतम पाँचपटक मात्र यो शुल्क तिर्नुपर्नेछ। साथै, अर्डर दिइएका वा हाल किनिएका चिनियाँ जहाजहरू, कोइला वा अन्न लिन आएका खाली जहाजहरू, क्यारेबियन टापुहरू वा ग्रेट लेक्स क्षेत्रका लागि बोलाइएका जहाजहरूलाई शुल्कबाट छुट दिइनेछ।
यो योजना फेब्रुअरीमा प्रस्तावित प्रति बन्दरगाह १५ लाख डलरको शुल्क प्रस्तावभन्दा धेरै कम भएको भन्दै केहीले राहतको महसुस गरे पनि, विश्लेषकहरूले विश्वव्यापी व्यापारमा यो घोषणाले थप अस्थिरता ल्याउने चेतावनी दिएका छन्।
ट्रम्प प्रशासनले जनवरीमा ह्वाइट हाउस प्रवेश गरेदेखि नै चिनियाँ वस्तुहरूमा उच्च दरमा कर लगाउँदै आएको छ। अहिले केही वस्तुहरूमा कुल कर २४५ प्रतिशतसम्म पुगेको छ। यसले अन्य देशहरूलाई पनि अमेरिकी करको प्रभावमा पारेको छ।
चार्टर्ड इन्स्टिट्यूट अफ एक्सपोर्ट एन्ड इन्टरनेशनल ट्रेडका महानिर्देशक मार्को फोर्जिआनका अनुसार, अमेरिकी नीतिका कारण धेरै चिनियाँ पानीजहाजहरूले अब युरोप र यूकेतर्फ मोडिएका छन्। सन् २०२५ को पहिलो तीन महिनामा चीनबाट यूकेमा आयात १५ प्रतिशत र युरोपेली संघमा १२ प्रतिशतले वृद्धि भएको छ।
लजिस्टिक कम्पनी फ्लेक्सपोर्टका अध्यक्ष सान मान्डर्सले युरोपका केही प्रमुख बन्दरगाहहरूमा कर तथा हड्तालका कारण पहिले नै समस्या रहेको उल्लेख गर्दै थप कार्गो प्रवाहले थप भीडभाड र अवरोध ल्याउने सम्भावना रहेको बताए। उनले विश्वव्यापी आपूर्ति श्रृङ्खला परिवर्तन हुन सक्ने खतरा पनि औंल्याए।



