रुसी क्षेप्यास्त्रबाट घाइते बालकको बयान-स्तब्ध मानिसहरू चिच्याउन पनि सकेका थिएनन्

आइतवार युक्रेनको सूमी सहरमा दुईवटा रुसी क्षेप्यास्त्र बज्रिँदा १३ वर्षीय किरिलो इल्याशेन्को आफ्नी आमासँग बसमा यात्रा गर्दै थिए।



उनलाई “सिट्ठी बजाए जसरी कुनै वस्तु खस्न थाले जस्तो” महसुस भयो। अनि उनले मानिसहरू चिच्याएको र सिसा फुटेको आवाज सुने। स्थानीय सञ्चारमाध्यमसँगको भिडिओ अन्तर्वार्तामा उनले उक्त घटनाबारे बताएका छन्।



स्तब्ध भएका किरिलोले केही जलेको गन्ध महसुस गरे। तर उनका अनुसार बसको ढोका बन्द थियो। उनले झ्यालबाट निस्किएर बाहिर गई बसको ढोका खोले। उनको यो प्रयासले सातो उडेका यात्रुहरू बाहिर निस्किन सफल भए।



“स्तब्ध भएकाले उनीहरू चिच्याउन पनि सकेका थिएनन्,” उनले भने। “मैले आमाको अनुहारमा रगत लतपतिएको देखेँ। मलाई उहाँको चिन्ता लाग्न थाल्यो।”
युक्रेनी अधिकारीहरूका अनुसार मानिसहरू इसाई धर्मावलम्बीहरूको चाड ‘पाम सन्डे’ मनाउन घरबाहिर निस्किएका समयमा भएका दुइटा हमलामा कम्तीमा ३५ जनाको ज्यान गएको छ।
किरिलोको प्रयासका बावजुद पनि उक्त बसका चालकसहित कैयौँ मानिसको ज्यान जोगिन नसकेको यातायात कम्पनीले जनाएको छ। किरिलो आफैँ पनि घाइते थिए। उनलाई अस्पताल लगिएपछि डाक्टरहरूले उनको टाउकोबाट एउटा छर्रा निकाले। तर उक्त सहरका मेअरका अनुसार अझै छर्राका दुइटा टुक्रा उनको टाउकोबाट निकाल्न सकिएको छैन।
युक्रेनको उत्तरपूर्वी सहरमा आइतवार भएको आक्रमण रुसले सन् २०२२ मा आक्रमण सुरु गरेयताकै सबैभन्दा घातक थियो।
मारिनेमा सङ्गीतकारदेखि शिक्षकसम्म

उक्त सहरका मानिसहरू आत्तिएका छन् र मृतकको पहिचान खुल्न थालेको छ। तीमध्ये कोही कलाकार, वकिल, चिकित्साका विद्यार्थी, सङ्गीतकार र एक जना विद्यालयका शिक्षक छन्।
मृतकमध्ये एक सुमी न्याश्नल थिअटरकी आर्किस्ट्रा सदस्य तथा एकल अर्गान वाद्यवादक ओलेना कोहुत पनि छिन्। उक्त नाटकघरले “एकदमै मृदुस्वभावकी र व्यावसासिक” सदस्यको मृत्युमा सहकर्मीहरू शोकमा डुबेको जनाएको छ। उनको “सङ्गीत, मुस्कान र दयाभाव” आफूहरूले कहिल्यै नबिर्सने उक्त नाटकघरले जनाएको छ।
सूमीकै माध्यमिक विद्यालयले पनि एक शिक्षिक मरिना चुडेसालाई गुमाएको छ। विद्यालयका अनुसार उनी र उनकी आमा पहिलो क्षेप्यास्त्र प्रहार भएपछि उद्धारका लागि पुगेका थिइ। उनीहरूको मृत्यु दोस्रो क्षेप्यास्त्र आक्रमणका कारण भयो।
अर्को विद्यालयले ६ कक्षामा अध्ययनरत विद्यार्थी पनि उक्त आक्रमणमा मारिएको बताएको छ। आफ्ना आमाबुवासँग गिर्जाघर गएका ती विद्यार्थीको परिवार नै घर फर्किन पाएन।
आक्रमणको मारमा सूमी स्टेट यूनिभर्सिटी र त्यसको सभाहल परेको छ। उक्त स्थान बैठक, बालबालिका र युवाहरूका लागि कक्षा सञ्चालन गर्न र सांस्कृतिक तथा व्यापारिक कार्यक्रमहरू गर्न प्रयोग हुने गरेको थियो।
आक्रमणअघि बालबालिकाहरूलाई दन्त्यकथामा आधारित नाटक देखाउन मञ्च तयार गरिएको थियो। पहिलो क्षेप्यास्त्रले उक्त भवनको छानो छेडेको थियो। तस्बिरहरूमा भुइँभरि भग्नावशेष देखिन्छ।
रुसबाट नजिकै रहेको उक्त सहरमा आइतवार भएको आक्रमणको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “पूर्ण रूपमा विचलित र फोहोरीले मात्रै यस्तो गर्न सक्ने” टिप्पणी गरेका छन्।
रुसको फरक दाबी

रुसी रक्षा मन्त्रालयले सर्वसाधारणप्रति लक्षित आक्रमण गरेको आरोप अस्वीकार गरेको छ। मन्त्रालयले सोमवार युक्रेनी सैन्य अधिकारीहरूको बैठक भइरहेका स्थानमा क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ।
वसन्तऋतुमा मौसम राम्रो भए पनि यो आक्रमणबाट स्तब्ध बनेका मानिसहरू घरबाहिर निस्किन डर मानिरहेको स्थानीयवासी ओलेक्सी सख्नोले बीबीसी युक्रेनीलाई बताए।
उनी युद्धबाट प्रभावितहरूलाई सहयोग गरिरहेको स्थानीय संस्थाका प्रमुख पनि हुन्। उद्धारकर्मीहरूका अनुसार आक्रमणमा उक्त सहरका ५० वटा घरमा क्षति पुगेको छ। सख्नो क्षतिपूर्ति माग गरिरहेका मानिसहरूलाई सहयोग गर्न आफूहरू जुटिरहेको बताउँछन्।
मानिसहरू गाउँ छोड्ने मनस्थितिमा

युक्रेनका राष्ट्रपति जेलेन्स्की र उनका मुख्य कमान्डरले सूमीसहित युक्रेनका पूर्वी क्षेत्रमा रुसी आक्रमण हुन सक्ने चेतावनी दिइरहेका छन्। सहर नै छोड्नुपर्ने समय आएको हो कि भनेर स्थानीयहरूले अहिले सामाजिक सञ्जालमा छलफल गरिरहेका छन्।
सीमावर्ती गाउँका कतिपय बासिन्दाहरूको उद्धार सुरु भइसकेको समाचार आएका छन्। सख्नोका अनुसार सूमीका बासिन्दाहरूले जुनसुकै समय पनि सहर छोड्नका लागि विगत तीन वर्षदेखि नै झोलाहरू तयार राखेका छन्। “मानिसहरू आत्तिहालेका चाहिँ छैनन् तर उनीहरू विकल्पबारे सोच्दै छन्,” उनी भन्छन्। बीबीसीबाट