No Image Headlineस्वास्थ्य/जिवनशैली

एन्टिबायोटिकको प्रभावहीनताका कारण ३० लाख बालबालिकाको ज्यान गयो

नयाँ अध्ययनले एन्टिबायोटिक औषधिहरूले काम नगर्ने अवस्थाका कारण सन् २०२२ मा मात्रै विश्वभर ३० लाखभन्दा धेरै बालबालिकाको मृत्यु भएको देखाएको छ। बाल स्वास्थ्यका दुई प्रमुख विज्ञद्वारा गरिएको अनुसन्धानमा यस्तो निष्कर्ष निकालिएको हो।

सङ्क्रमण नियन्त्रण गर्न प्रयोग हुने एन्टिबायोटिक औषधिहरूप्रति ब्याक्टेरियाहरू प्रतिरोधी बन्न थालेपछि यस्तो गम्भीर अवस्था आएको हो। यो अवस्थालाई ‘एन्टिमाइक्रोबियल रेजिस्टन्स’ (एएमआर) भनिन्छ, जुन अहिलेको विश्वव्यापी सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा चिनिएको छ।

अध्ययनका अनुसार दक्षिणपूर्वी एशिया र अफ्रिका क्षेत्रका बालबालिका सबैभन्दा बढी जोखिममा छन्। छालाको सङ्क्रमणदेखि निमोनियासम्मका रोगहरूमा प्रयोग हुने एन्टिबायोटिक औषधिहरू अत्यधिक वा अनुपयुक्त प्रयोगका कारण अघोषित रुपमा प्रभावहीन बन्दै गएका छन्।

अस्ट्रेलियाको मर्डोख चिल्ड्रन्स रिसर्च इन्स्टिच्युटका डा. यान्हङ जेसिका हू र क्लिन्टन हेल्थ एक्सेस इनिशटिभ्सका प्राध्यापक हर्ब हार्वेलद्वारा तयार गरिएको प्रतिवेदनमा एएमआरका कारण बालबालिकामा हुने सङ्क्रमणको दर तीन वर्षमै १० गुणाले बढेको उल्लेख गरिएको छ। यो अवस्था कोभिड महामारीपछि थप जटिल बनेको हो।

एन्टिबायोटिकको अत्यधिक प्रयोगमा वृद्धि

सन् २०१८ देखि २०२१ सम्म दक्षिणपूर्वी एशियामा ‘वाच एन्टिबायोटिक्स’ भनिने औषधिको प्रयोग १६० प्रतिशतले र अफ्रिकामा १२६ प्रतिशतले बढेको देखिएको छ। त्यस्तै ‘रिजर्भ एन्टिबायोटिक्स’ भनिने अत्यन्त जटिल अवस्थाका लागि मात्रै प्रयोग गरिने औषधिको प्रयोग पनि उल्लेख्य रूपमा बढेको छ—दक्षिणपूर्वी एशियामा ४५ प्रतिशत र अफ्रिकामा १२५ प्रतिशत।

यी तथ्याङ्कहरूबाट देखा परेअनुसार, यदि ब्याक्टेरियाले ती उच्च प्रभावशाली औषधिप्रति समेत प्रतिरोधी क्षमता विकास गरेमा उपचारका लागि उपलब्ध विकल्पहरू अत्यन्त सिमित हुने प्राध्यापक हार्वेलले चेतावनी दिएका छन्।

रोकथाम नै उत्तम उपाय

प्राध्यापक हार्वेलले यो बहुआयामिक समस्या भएको बताउँदै औषधिदेखि वातावरणसम्म सबै क्षेत्रमा यसको प्रभाव फैलिएको जनाएका छन्। “एन्टिबायोटिकहरू हाम्रो वातावरण र खानपानमा पनि छन्। त्यसैले एउटै समाधान सम्भव छैन,” उनले भने।

उनका अनुसार यस्तो सङ्क्रमणबाट जोगिनको लागि रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने, सरसफाइमा ध्यान दिने र स्वच्छ पानीको प्रयोग गर्ने नै प्रमुख उपाय हुन्। साथै, एन्टिबायोटिकहरूको उचित र सीमित प्रयोग सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन्।

स्वास्थ्य क्षेत्रमा जनाउघण्टी

लन्डनस्थित किङ्ग्स कलेजकी सूक्ष्मजीव विज्ञ प्राध्यापक लिन्ड्जी एड्वर्ड्सका अनुसार नयाँ अध्ययनले यसअघि उपलब्ध तथ्याङ्कको तुलनामा ‘उल्लेख्य र चिन्ताजनक वृद्धि’ देखाएको छ। उनले भनिन्, “यदि समयमै निर्णायक कदम चालिएन भने एएमआरले बालस्वास्थ्य क्षेत्रमा दशकौंको प्रगति खेर जान सक्छ।”

विश्व स्वास्थ्य सङ्गठनले समेत एएमआरलाई हालको सबैभन्दा ठूलो स्वास्थ्य चुनौतीको रूपमा पहिचान गरिसकेको छ। यस समस्याको समाधानका लागि अब विश्व समुदाय एकजुट भई दीर्घकालीन रणनीति तय गर्नुपर्ने देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button