अन्तराष्ट्रिय

रुसी आक्रमणमा युक्रेनी एफ–१६ लडाकु विमानका चालकको मृत्यु

युक्रेनी एफ–१६ लडाकु विमानका एक चालकको शनिबार रुसी आक्रमणमा मृत्यु भएको युक्रेनी सेनाले जनाएको छ । रूसी आक्रमणविरुद्ध लड्न सहयोग पुर्‍याउन युक्रेनलाई अमेरिकानिर्मित बहुमूल्य लडाकू विमान हस्तान्तरण गरिएपछिको यो दोस्रो घटना भएको किएभले शनिबार बताएको छ ।

“सन् २०२५ अप्रिल १२ (शनिबार)मा २६ वर्षीय पाभ्लो इभानोभको एफ–१६ लडाकू मिसन उडाउने क्रममा मृत्यु भएको हो,” युक्रेनी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। “आक्रमणकारीहरूबाट आफ्नो मातृभूमिको रक्षा गर्दै उहाँ कारबाहीमा मारिनुभएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

सेनाले उनको मृत्यु कसरी भयो भन्नेबारे थप विवरण दिएको छैन र ‘त्रासदीका सबै परिस्थितिहरू’ पत्ता लगाउन एक आयोगले काम गरिरहेको बताएको छ।

“युक्रेनी चालकहरूले आफ्नो मानवीय र प्राविधिक क्षमताको अधिकतम काम गर्छन्, हरेक पटक लडाकू मिसनहरू गर्दा उनीहरूको जीवनलाई जोखिममा पार्छन्। पावलो तीमध्ये एक थिए !,” सेनाले भनेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इभानोभको हत्या भएको भन्दै उनको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । “हामी सबै परिस्थितिको अनुसन्धान गरिरहेका छौं,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

किएभले गत वर्ष गर्मीयाममा एफ–१६ को पहिलो आपुर्ति पाएको थियो । सन् २०२४ को अगष्टमा पनि किएभले रुसी क्षेप्यास्त्र आक्रमणलाई प्रतिकार गर्ने क्रममा एफ–१६ विमान दुर्घटनाग्रस्त भएको र चालकको मृत्यु भएको बताएको थियो ।

किएभले घोषणा गरेको एफ–१६ विमानको अहिलेसम्मको यो एक मात्र क्षति थियो । गत महिना जेलेन्स्कीले कुनै निश्चित सङ्ख्या नदिई नयाँ संस्करणको जेट वितरण गर्ने घोषणा गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button