३० सेकेन्डको उठबस परीक्षणले पत्ता लाग्छ कस्तो छ तपाइँको स्वास्थ्य

जम्मा ३० सेकेन्ड लाग्ने एउटा सामान्य परीक्षणले तपाईंको शारीरिक स्वास्थ्यबारे गहिरो जानकारी दिन सक्छ। चिकित्सकहरूले ‘सीट टु स्ट्यान्ड’ (STS) नाम दिइएको यो परीक्षणलाई विशेषगरी वृद्धहरूको स्वास्थ्य अवस्था मापन गर्न प्रयोग गर्ने गरेका छन्, तर यो परीक्षण घरमै पनि सजिलै गर्न सकिन्छ।



यो परीक्षणमा तपाईं ३० सेकेन्डको अवधिमा कति पटक बस्ने र उठ्ने सक्नुहुन्छ भन्ने गणना गरिन्छ। यसका लागि कुर्सी, स्टपवाच वा मोबाइलको टाइमर भए पुग्छ। चिकित्सकहरूका अनुसार यो अभ्यासले शरीरको शक्ति, सन्तुलन र लचकताको मापन गर्छ, जुन स्वास्थ्यको प्रमुख सूचकहरू हुन्।



अभ्यास गर्ने तरिका:



- हात नचलाइ बस्ने र उठ्ने कुर्सी छान्नुहोस्।
- कुर्सीमा बस्दा एक हातले अर्को हातको पाखुरा समात्नुहोस्।
- मेरुदण्ड सीधा राख्नुहोस् र खुट्टा जमिनमा ठीकसँग राख्नुहोस्।
- स्टपवाच सुरु गरेर ३० सेकेन्डभित्र जति सकिन्छ उति पटक उठबस गर्नुहोस्।
- संख्या गनिसकेपछि त्यसको औसतसँग तुलना गर्नुहोस्।
औसत स्कोर कस्तो हुन्छ?
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार:
- ६०–६४ वर्षका पुरुष: औसत १४ पटक
- ६०–६४ वर्षका महिला: औसत १२ पटक
- ८५–८९ वर्ष उमेरका व्यक्ति: औसत ८ पटक
यदि तपाईंको स्कोर औसतभन्दा कम आयो भने, त्यो शारीरिक सन्तुलन कमजोर हुनु वा हिँड्दा लड्ने जोखिमको संकेत हुन सक्छ।
वैज्ञानिक तथ्य र अनुसन्धान के भन्छ?
स्वीट्जरल्यान्डमा गरिएको एक अध्ययनमा ७,००० जना सहभागी थिए, जसमा २०–२४ वर्ष उमेरका पुरुषहरूले औसत ५० पटक र महिलाले ४७ पटक उठबस गरे। केहीले त ७२ पटकसम्म पनि गर्न सके।
किङ्स कलेज लन्डनका प्रोफेसर तथा वृद्धविज्ञ डा. जगदीप ढेसीका अनुसार, STS परीक्षणको नतिजाले मुटु, फोक्सो, तन्दुरुस्ती र दीर्घकालीन स्वास्थ्य जोखिमको समेत संकेत दिन सक्छ। एक अध्ययन अनुसार कम स्कोर भएका मानिसहरूमा क्यान्सरपछि खराब नतिजा, सर्जरीको जटिलता र मृत्युको सम्भावना बढी देखिएको छ।
लडाइको जोखिम र सामाजिक असर
६५ वर्षभन्दा बढी उमेरका ३० प्रतिशत मानिसहरू हरेक वर्ष लड्ने गर्छन्। ८० वर्ष नाघेपछि त्यो प्रतिशत झनै बढ्छ। एक पटक लडेपछि फेरि लडिने त्रासले गर्दा धेरैजसो मानिस सामाजिक रूपमा एक्लिन पुग्छन्।
डा. ढेसी भन्छन्, “यदि शारीरिक क्षमता कायम राखिएन भने शरीरको सन्तुलन र लचकता बिग्रिन्छ, जसले लड्ने सम्भावना बढाउँछ।” यस्तै समस्याले मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्छ।
स्वास्थ्य सुधारका उपायहरू
- हरेक घण्टामा कम्तीमा पाँच पटक उठबस गर्नुहोस्।
- दिनमा तीन–चार पटक भर्याङ चढनु र ओर्लनुहोस्।
- सवारीको साटो पैदल हिँड्नुहोस्।
- बगैँचामा काम गर्नुहोस् वा कसरतका कक्षामा सहभागी हुनुहोस्।
- नातिनातिनासँग भुईँमा खेल्नुहोस्।
यो परीक्षण केवल स्वास्थ्यको संकेत दिने माध्यम हो, भविष्यको जीवन अवधि निर्धारण गर्ने होइन। तर यसको नतिजाबाट जीवनशैली सुधार्ने महत्त्वपूर्ण सूचनाहरू पत्ता लगाउन सकिन्छ।
घरमै सजिलै गर्न मिल्ने यो सानो परीक्षणले तपाईंको शारीरिक स्वास्थ्यको वास्तविक अवस्था देखाउने काम गर्छ। नियमित अभ्यास र जीवनशैलीको सुधारमार्फत स्वास्थ्य कायम राख्न सकिन्छ र दीर्घकालीन रूपमा स्वतन्त्र जीवन जिउन सहयोग पुग्छ।