बारा-पर्साका उद्योगमा अचाक्ली ट्रिपिङ्ग, उद्यमी भन्छन्-कुलमान हटे, तर हटेन अघोषित लोडशेडिङ

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अघोषित लोडशेडिङ र पटक–पटकको विद्युत कटौतीका कारण उद्योगहरूको उत्पादनमा गम्भीर असर परेको उद्योगीहरूले गुनासो गरेका छन्। नेपाल विद्युत प्राधिकरणले स्थिर र गुणस्तरीय विद्युत आपूर्ति गर्न नसकेको भन्दै उद्योगीहरू आक्रोशित भएका छन्।



नेपाल सरकारको निर्देशनमा कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट हटाएपछि केही समय सहज देखिएको विद्युत आपूर्ति फेरि समस्याग्रस्त भएको उद्योगीहरूको आरोप छ।



वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार विज्ञप्ति जारी गर्दै औद्योगिक क्षेत्रको उत्पादन प्रणालीमा नकारात्मक असर परेको बताएको छ। संघका अनुसार औद्योगिक फिडरमा २४ घण्टामा १४ देखि १५ पटकसम्म विद्युत ट्रिपिङ्ग भइरहेकाले मेसिनहरू बिग्रनुका साथै कच्चा पदार्थ नोक्सान भइरहेको छ।



संघका अध्यक्ष हरि गौतमले, “विद्युत नै उद्योगको अक्सिजन हो। तर नियमित आपूर्ति नहुँदा उद्योगहरू निर्धारित क्षमताको भन्दा निकै कम क्षमतामा सञ्चालन भइरहेका छन्,” भने।
२०७५ सालमा नेपाल विद्युत प्राधिकरणले लोडशेडिङमुक्त औद्योगिक क्षेत्रको घोषणा गरेपछि उद्योगीहरूमा आशा पलाएको भए पनि पछिल्लो समयको अस्थिर आपूर्तिले ती सबै आशाहरू मरेको संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले बताए।
पर्सा–बारा औद्योगिक क्षेत्रका उद्योगहरू पहिले नै विभिन्न समस्यामा परिरहेका बेला विद्युत कटौतीको थप चुनौतीले थपिएको उनीहरूको गुनासो छ। उद्योग सञ्चालनमा डिजेल जेनेरेटर प्रयोग गर्नुपर्ने बाध्यताले उत्पादन लागत बढेको र प्रतिस्पर्धी क्षमता घटेको उद्योगीहरूको भनाइ छ। साना उद्योगहरू त यस्ता परिस्थितिमा बन्द हुनुपर्ने अवस्थामा पुगेका छन्।
संघले दीर्घकालीन समाधानका लागि निश्चित समयको लोडशेडिङ घोषणा गरेर बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ। हिउँद याममा बारम्बार देखिने यो समस्याको दिगो समाधानका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरिएको छ।