No Image Headlineदेशमुख्य खबरविशेष

सहकारी ठगी प्रकरण : रबि र छबि कारागारमा, जीबीबारे सरकार बेखबर

सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोग लागेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई उच्च अदालतको आदेशपछि सोमबार जिल्ला कारागार रूपन्देही चलान गरिएको छ। लामिछानेका व्यावसायिक साझेदार छविलाल जोशी पनि उनीसँगै पुर्पक्षका लागि थुनामा पठाइएको छ।

यस प्रकरणमा लामिछाने धरौटीमा रिहा भएका थिए, तर उच्च अदालतले पुनः थुनामा पठाउने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो। सहकारी ठगीका प्रमुख अभियुक्तमध्येका एक, गीतेन्द्रबाबु (जीबी) राई भने अझै फरार छन्। सरकार र प्रहरी एक वर्षदेखि उनलाई पक्राउ गर्न असफल भएपछि आलोचना चुलिएको छ।

इन्टरपोलमार्फत् खोजी प्रयास

जीबी राईलाई इन्टरपोलमार्फत् पक्राउ गर्ने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआईजी दिनेश आचार्यका अनुसार, “हामीले इन्टरपोलको सहयोग मागेका छौँ। नेपालसँग धेरै देशहरूसँग सुपुर्दगी सन्धि नभएकोले इन्टरपोलकै माध्यम प्रमुख हो।”

नेपाल पनि इन्टरपोलको सदस्य राष्ट्र भएकाले इन्टरपोलको रेड नोटिस जारी गरेर विदेशमा रहेका अभियुक्तहरूलाई समात्ने प्रयास हुँदै आएको प्रहरी बताउँछ। इन्टरपोल बाध्यकारी भने नहुने भएकाले प्रत्यक्ष सुपुर्दगी सम्भव छैन।

पूर्व एआईजी पुष्कर कार्कीका अनुसार, “हामीले ल्याउने भनेको दुई देशका प्रहरीबीचको समन्वय हो। जब उनीहरू नेपाल आउने विमान चढ्छन्, तब हाम्रो प्रहरीले विमानस्थलमा पक्राउ गर्न सक्छ।”

जीबी राईमाथि ठगीको आरोप

गोर्खा मिडियामा व्यावसायिक साझेदारी रहेको जीबी राईमाथि विभिन्न सहकारीहरूबाट बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोप छ। रवि लामिछानेले भने आफू केवल उक्त मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियासम्म संलग्न भएको र रकमको स्रोतबारे जानकारी नभएको दाबी गर्दै आएका छन्।

प्रहरीका अनुसार जीबी राईसँगै भूपेन्द्र राई, थानबहादुर बुढा र भरत महर्जनविरुद्ध पनि रेड कर्नर नोटिस जारी गरिएको छ। महर्जन ललितपुरस्थित सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक थिए। यसअघि बागलुङको इमेज सहकारीका सञ्चालक देवबहादुर नेपालीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिसकेको छ।

कूटनीतिक पहल र सीमितता

नेपालले जीबी राईलाई ल्याउन कूटनीतिक पहल पनि थालेको जनाएको छ। पूर्वगृहमन्त्री लामिछाने स्वयंले मलेशियाका गृहमन्त्रीसँग टेलिफोन संवाद गरेर सहयोगको आग्रह गरेका थिए। तर, विदेशी भूमि भित्र नेपाल प्रहरीले सिधा खोजतलास गर्न नपाउने भएकाले स्थानीय प्रहरीको सहयोग अनिवार्य भएको सुरक्षा विज्ञहरू बताउँछन्।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार, “अपराध नियन्त्रण र निष्पक्ष अनुसन्धानको लागि मन्त्रालयले निर्देशन दिँदै आएको छ। यसको कार्यान्वयन प्रहरीमार्फत् हुने हो।”

हाल जीबी राई दक्षिण प्रशान्त क्षेत्रको भानुआटु द्वीपमा लुकेका हुन सक्ने आशंका गरिएको छ, तर यसको पुष्टि प्रहरीले नगरेको हो।

प्रहरीका अनुसार, पछिल्लो एक वर्षमा मात्रै विदेशमा लुकेका ९ जनाविरुद्ध रेड नोटिस जारी गरिएको छ भने सहकारी ठगीमा संलग्न ४५ जनालाई पक्राउ गरिएको छ।

रवि लामिछाने थुनामा पुगेको घटनाले सहकारी ठगी प्रकरणलाई थप गहिरो बनाएको छ। प्रमुख अभियुक्त जीबी राईको गिरफ्तारी अझै हुन नसक्नुले सरकार र सुरक्षाअङ्गको क्षमतामाथि प्रश्न उठाएको छ। अब इन्टरपोल र कूटनीतिक पहलमार्फत् राईलाई कसरी नेपाल फर्काइनेछ भन्नेमा जनचासो बढेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button