गधाको दूधबाट बनेको चिजको मूल्य किलोकै १ लाख ८० हजार !

सर्बियामा एक विशेष प्रकारको चीज, प्यूल चीज, त्यहाँको औसत मासिक तलबभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको छ। राजधानी बेल्ग्रेडबाट करिब ८० किलोमिटर पश्चिममा रहेको जासाभिचा प्रकृति आरक्षमा उत्पादन हुने यो चीजको मूल्य एक केजीका लागि १,२०० यूरो (अन्दाजी १ लाख ८० हजार रुपैयाँ) पर्छ।



यो विलासिताको वस्तु बनेको चीज गधाको दूधबाट बनाइन्छ। तर उत्पादन प्रक्रिया निकै जटिल र समयखपत हुन्छ। एक केजी प्यूल चीज बनाउन २५ लिटर गधाको दूध आवश्यक पर्छ, जुन संकलन गर्न एउटा गधालाई झन्डै डेढ वर्ष लाग्छ। आरक्षका प्रबन्धक भुक सिमिचका अनुसार, एउटा गधाले दिनमा मात्र ३०० मिलिलिटर दूध दिन्छ र त्यो पनि आधा बच्चाले खपत गर्छ।



जासाभिचामा ३०० गधा पालिएका छन्, जसमा १२ मात्र भाले छन्। यो दक्षिणपूर्वी युरोपकै सबैभन्दा ठूलो गधा फार्म हो। फार्मका प्रमुख निकोला निलिचका अनुसार, गधा प्राणी सामाजिक र चलाख हुन्छन्, प्रत्येकको आ–आफ्नै स्वभाव हुन्छ—कोही चकचके, कोही गम्भीर। तर सबै गधाले अलिअलि अँगालो हाल्न रुचाउँछन्।



प्यूल चीज सर्वसाधारणका लागि बिक्रीमा राखिँदैन, न त यो विदेश निर्यात नै गरिन्छ। जासाभिचामा उत्पादित चीज त्यहीँ गएर मात्र किन्न सकिन्छ। एक वर्षमा जम्मा २५–३० किलो मात्रै उत्पादन हुने हुँदा यो चीज अत्यन्तै दुर्लभ मानिन्छ।
धेरै पैसा हुने ग्राहकले मात्रै यो विलासिताको स्वाद चाख्न सक्छन्। सर्बियाका प्रसिद्ध टेनिस खेलाडी नोभाक जोकोभिचले आफ्ना रेस्टुराँका लागि भन्दै एक वर्षको पूरै उत्पादन खरिद गरेका थिए। उनले आधा केजी प्यूल चीजको लागि ४८० यूरो तिरेको विवरण सार्वजनिक भएको थियो।
तर प्यूल चीज संसारकै सबैभन्दा महँगो चीज भने होइन। सन् २०२४ मा स्पेनको काब्रालेस ब्लू चीजले गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएको छ। २.५ किलो चीज ३६ हजार यूरोमा बिक्री भएको थियो, जसअनुसार एक केजीको मूल्य १,४४० यूरो (झन्डै २ लाख १६ हजार रुपैयाँ) परेको थियो।
प्यूल चीज बनाउने अवधारणा आरक्षका पूर्वप्रबन्धक स्लोबोदान सिमिचले झन्डै एक दशकअघि ल्याएका थिए। सुरुमा धेरै असफलता बेहोरे पनि अन्ततः त्यहाँका खाद्य प्रविधिकहरूले सफल विधि विकास गरे।
प्यूल चीजको स्वादबारे सिमिच भन्छन्, “म त यसको स्वादै महँगो छ भन्छु।” तर उनी यसको उत्पादन विधि साझा गर्न इच्छुक छैनन्। उनले स्पष्ट पारे, “अहिलेलाई हामी अरूलाई यो विधि दिने पक्षमा छैनौँ।”
अन्तर्राष्ट्रिय बजारमा पनि प्यूल चीजको माग देखिए तापनि सिमिचको प्राथमिकता स्थानीय बिक्रीमै सीमित रहेको छ। “हामी आफैले उत्पादन गरेको सबै चीज बेच्न सफल छौँ। विश्वभरि मानिसहरूले हामीबारे सुनेका छन्,” उनले भने।
सर्बियामा अन्य केही गधा फार्महरू पनि छन्, तर तिनीहरूको ध्यान चीजभन्दा बढी गधाको दूध बिक्रीमा केन्द्रित हुन्छ। सर्बियाको उद्योग वाणिज्य संघका अनुसार, गधाको दूधको न्यून उत्पादनले देशको अर्थतन्त्रमा खासै प्रभाव पार्दैन।
प्यूल चीज अहिलेको लागि स्वाद र विलासिता खोज्ने सीमित धनी ग्राहकका लागि मात्र उपलब्ध छ, र सर्बियाको एक अनौठो र आकर्षक सम्पदा बनेको छ।