No Image Headlineअर्थमुख्य खबरविशेष

औषधी व्यवस्था र खाद्य विभागको चेपुवामा आहारपूरक व्यवसाय, नेपालकै पहिलो आहारपूरक उद्योग अन्योलमा

वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा स्थापना गरिएको नेपालकै पहिलो आहारपूरक (फुड सप्लिमेन्ट) उद्योग जयश्री हेल्थकेयर सरकारी निकायबीचको अधिकार क्षेत्रको द्वन्द्वका कारण सञ्चालनमै आउन नपाउँदै संकटमा परेको छ।

यस परिस्थितिलाई मध्यनजर गर्दै संघीय संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले आइतबार स्थलगत अवलोकन गरेको छ।

समितिका संयोजक किसान श्रेष्ठको नेतृत्वमा आएको टोलीले उद्योग अवलोकन गर्दै सञ्चालक साकेत क्यालसँग विस्तृत जानकारी लिएको हो। क्यालले औषधी व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीचको अनावश्यक तानातानले उद्योग सञ्चालन नै असम्भवजस्तै बनेको भन्दै समितिको ध्यानाकर्षण गराए।

उनले औषधी व्यवस्था विभागले देशभरका औषधी पसलहरूमा आहारपूरक उत्पादन बिक्री गर्न नपाइने भन्दै विक्रेतामाथि डर त्रास फैलाएको आरोप लगाए। जबकि यस्ता पसलहरूमा अन्य हर्बल, बाल आहार तथा पेय पदार्थहरू निर्वाध बिक्री भइरहेका छन्। उनले औषधी विभागको पूर्वाग्रही रवैयाले आहारपूरक उद्योगप्रति असहयोग भएको जनाए।

उद्योग सञ्चालक क्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति लिएर बजारमा पठाइएका उत्पादनहरू औषधी व्यवस्था विभागले अवैध भन्दै भ्रम फैलाएको बताए। यस्तो व्यवहारले उद्यमी तथा व्यापारीलाई हतोत्साहित बनाएको उनको भनाइ छ। जयश्री हेल्थकेयर उद्योग समेत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नियमनअन्तर्गत पर्छ।

समितिका संयोजक श्रेष्ठले उद्योग सञ्चालनमा देखिएको अन्योल अन्त्यका लागि दुबै निकायका अधिकारीहरूलाई छलफलमा बोलाएर समाधान निकाल्ने प्रतिबद्धता जनाए।

उद्योग सञ्चालकले औषधी र आहारपूरक दुवै उद्योगले समान कच्चा पदार्थ प्रयोग गर्दा पनि भन्सार शुल्कमा ठूलो विभेद रहेको उल्लेख गरे। औषधी उद्योगले मात्र १ प्रतिशत भन्सार महशुल तिर्ने भए पनि आहारपूरक उद्योगले २० देखि ४० प्रतिशतसम्म तिर्नु पर्ने अवस्था रहेको भन्दै नीतिगत सुधारको मागसमेत उठाएका छन्।

करोडौं रुपैयाँ लगानीमा स्थापना भएको उद्योग सरकारले सहजीकरण नगरेमा बन्द हुने अवस्थामा पुगेको भन्दै समितिसमक्ष गम्भीर ध्यानाकर्षण गराइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button