वातावरण प्रदूषणमा काठमाडौं विश्वमै शीर्ष स्थानमा, सतर्क रहन अपिल

काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सातादेखि लगातार खराब अवस्थामा रहेको छ। वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एअर का अनुसार हाल काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ।
संस्थाले शनिबार बिहानको मापनअनुसार काठमाडौंको औसत वायु गुणस्तर सूचकांक १९३ रहेको जनाएको छ। यो सूचकांक ‘अस्वस्थकर’ श्रेणीमा पर्दछ। यद्यपि अघिल्ला दिनहरूको तुलनामा आजको केही कम देखिएको छ। सूचीमा दोस्रो स्थानमा रहेको चीनको वुहान शहरको १६६ रहेको छ।
वायु गुणस्तर सूचकांक ० देखि ५० सम्म स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ३०१ भन्दा माथिको स्तरलाई खतरनाक मानिन्छ। सूचकांक २०१ देखि ३०० सम्मलाई ‘निकै अस्वस्थ’, १५१ देखि २०० सम्मलाई ‘अस्वस्थ’, १०१ देखि १५० सम्मलाई ‘संवेदनशील समूहका लागि अस्वस्थ’ र ५१ देखि १०० सम्मलाई ‘मध्यम’ श्रेणीमा राखिन्छ।
जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलोको सम्भावना बढी हुने र पानी नपरेसम्म वायु प्रदूषण उच्च रहने चेतावनी दिएको छ। विभागले अत्यावश्यक काम बाहेक प्रदूषण उच्च भएको बेला घर बाहिर ननिस्कन नागरिकलाई अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायू प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ।
आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।



