डिपी अर्याल रास्वपाका कार्यवाहक सभापति, चितवनको सभा के हुन्छ ?

सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको भर्चुअल बैठकले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।
शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेसम्बन्धी गरेको फैसलालाई कानुनको एक तहको निर्णयका रूपमा लिँदै रास्वपाले अदालतको निर्णयको सम्मान गर्ने बताएको छ। साथै, पार्टीले थप न्यायका लागि संवैधानिक प्रक्रिया अघि बढाइने जनाएको छ।
पार्टीले शनिबार चितवनको भरतपुरमा आयोजना गर्न लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य र शान्तिपूर्ण बनाउन विशेष तयारी गरिएको जनाएको छ। सभापति लामिछानेको निर्देशनअनुसार सभा सौम्य रहनुपर्ने र सम्भावित घुसपैठ तथा अवरोध रोक्न सबै सदस्यलाई सचेत र संयमित रहन निर्देशन दिइएको छ।
बैठकले प्रहरीद्वारा रवि लामिछानेको घरभित्रै प्रवेश गरी बेडरुममा बसेर पक्राउ पूर्जी तयार पारिएको घटनालाई ‘अनौठो र विधिको शासन विपरीतको अभ्यास’ भन्दै भत्सर्ना गरेको छ। रास्वपाले नागरिकको निजी आवासमा यसरी प्रवेश गर्नु गैरकानुनी भएको ठहर गर्दै घटनाको कडा आलोचना गरेको छ।
रास्वपाको सचिवालयद्वारा जारी निर्णय अनुसार:
- अदालतको निर्णयको सम्मान गर्दै न्यायको अर्को तहमा अघि बढ्ने
- गैरकानुनी रूपमा घरभित्र पसी पूर्जी लेख्ने प्रहरीको कार्यको निन्दा
- चितवनमा आयोजना हुने जनयात्रा सभालाई सफल र शान्तिपूर्ण बनाउने
- कार्यवाहक सभापतिमा डिपी अर्याललाई तोकिएको निर्णय अनुमोदन
सभापति लामिछानेले कारबाहीको प्रक्रियाबीच नेतृत्वमा देखाएको संयमता र लोकतान्त्रिक प्रक्रियाप्रतिको सम्मानलाई पार्टीले सकारात्मक रूपमा व्याख्या गरेको छ।



