No Image Headlineअर्थ

वीरगञ्जमा कृषि विकास बैंकद्वारा उद्यमीहरूसँग व्यावसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृषि विकास बैंक लिमिटेडले वीरगञ्जमा स्थानीय उद्यमी तथा व्यापारीहरूसँग व्यावसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार साँझ आयोजित उक्त कार्यक्रममा बैंकले वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना समेत प्रदान गर्‍यो।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोबिन्द गुरुङले संघका पदाधिकारीलाई माला लगाई सम्मान गर्दै उनीहरूको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे। उनले कृषिक्षेत्रमा लगानी वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान विस्तार गर्न सकिने धारणा राखे।

“देशमा कृषिमा धेरै सम्भावना रहे पनि पर्याप्त पूर्वाधारको अभावले अपेक्षित लाभ लिन सकिएको छैन,” गुरुङले भने, “उद्यमीहरूले अब व्यावसायिक रुपमा कृषिमा लगानी बढाउनुपर्छ।”

उनले कृषि विकास बैंक अहिले जलविद्युत्, स्टील, सिमेन्ट, आयात–निर्यात जस्ता क्षेत्रहरूमा समेत अन्य वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धी सेवा दिइरहेको जानकारी गराए। बैंकको आधार दर ६.४८ प्रतिशत रहेको बताउँदै उनले चैत महिनाभित्र प्रक्रियामा आउने सबैखालका कर्जामा ०.५ प्रतिशत प्रिमियममा कर्जा प्रदान गरिने नीति लिएको बताए।

बैंकका उपमहाप्रबन्धक सुदीप दाहालले बैंकले साना किसानदेखि ठूला उद्योगसम्मलाई सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको स्पष्ट पार्दै सबैखाले उद्यममा बैंकले वित्तीय सहयात्रीको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। मधेश प्रदेश निर्देशक रामप्रसाद गजुरेलले ग्राहकहरूलाई सहज र सुलभ सेवा दिन बैंक सधैं तत्पर रहेको बताए।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव राजपाल, निवर्तमान अध्यक्ष अनिल अग्रवाल, संघका सहसचिव अनुप अग्रवाल, जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, मेडिकल व्यवसायी बसुरुद्धिन अन्सारी, तथा जगदम्बा ग्रुपका निर्देशक रमेश अग्रवाल लगायतले प्रतिस्पर्धी ब्याजदर र ग्राहकमैत्री सेवाको आवश्यकता औंल्याएका थिए। कार्यक्रमले बैंक र निजी क्षेत्रबीच आपसी सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button