No Image Headlineदेशमुख्य खबर

वीरगञ्जमा छैनन् आधुनिक दमकल र दक्ष अग्नीनियन्त्रक, बहुतले संरचनामा आगलागी भए के गर्ने ?

चैत महीनादेखि आगामी जेठसम्म हावाहुरी चल्ने र यो क्रममा आगलागीका घटनाहरू बढ्ने जोखिम भए पनि स्थानीय सरकारले यसको नियन्त्रणमा आवश्यक पूर्वतयारी भने गरेको पाइँदैन ।

वीरगञ्जमा विगत केही वर्षयता ठूला र अग्ला भवनहरु निर्माणको क्रम बढेको छ । तर, ती भवनमा आगलागी भइहालेमा त्यसलाई नियन्त्रणमा लिने पूर्वाधार वीरगञ्ज र आसपासका क्षेत्रमा छैन ।

केही समयअघि वीरगञ्जको सिद्धार्थ बैंकमा आगलागी हुँदा यस्तै समस्या झेल्नु परेको थियो । पहिलो तलामा लागेको आगो कसरी निभाउने भनेर वारुणयन्त्रका कर्मचारी र सुरक्षाकर्मी अन्योलमा परेका थिए । यही अन्योलकै कारकण समयमा आगो निभाउन नसक्दा क्षति बढेको थियो ।

वीरगञ्जमा अहिले बहुतले तारे होटल, निजीघर र अपार्टमेन्टहरु निर्माणको क्रम बढेको भए पनि त्यहाँ आगलागी भइहालेमा नियन्त्रणको उपाय निरीहजस्तै हुने अवस्था छ ।

अहिले वीरगञ्जमा उपलब्ध बारुणयन्त्रले भुइँतलामा लागेको आगो निभाउन सके पनि माथिल्ला तलामा आगलागी भएका के गर्ने भन्ने प्रश्नको उत्तर कसैसँग छैन । यसले यस्ता संरचनामा आगलागी भएको अवस्थामा ठूलो जनधनको क्षति हुने जोखिम छ ।

दमकल चलाउने तालिमप्राप्त अग्नीनियन्त्रकसमेत छैनन् । दक्ष अग्नीनियन्त्रकको अभावमा केही वर्षअघि वीरगञ्जको एउटा ग्यास उद्योगमा आगो निभाउन जाँदा वीरगञ्ज महानगरका अग्नीनियन्त्रकको जलेर घटनास्थलमै ज्यान गएको थियो ।

वीरगञ्ज लगायत पर्साका १४ पालिकामध्ये ४ ओटा पालिकामा मात्रै दमकल छन् । वीरगञ्ज, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकामा दमकल छन् । पर्सागढी नगरपालिकाको वारुणयन्त्र खरीद गरेर राखिएकोमात्र छ । अहिलेसम्म सञ्चालनमा आउन नसक्दा आलोचना हुने गरेको छ ।

पालिकामा प्रमुख र जनप्रतिनिधिहरुले आफूले प्रयोग गर्न महँगा गाडी खरीद गर्दै आएका छन् । तर, आगलागीजस्तो विपत्तिको क्षति रोक्ने दमकल खरीदमा चासो नदिएकोप्रति आलोचना हुने गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button