No Image Headlineअर्थमुख्य खबर

८ महीनामा ५७ प्रतिशत बढ्यो निर्यात, ५६ अर्बको खानेतेल निकासी

नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ। विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन पश्चात मूल्य अभिवृद्धि गरेर बिक्री गर्दा खानेतेलको निर्यात उल्लेखनीय रूपमा बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापार विवरणअनुसार गत वर्षको तुलनामा यस वर्ष आयात ११.२० प्रतिशतले र निर्यात ५७.२० प्रतिशतले बढेको छ।

खानेतेलको प्रमुख हिस्सा

पछिल्लो आठ महिनामा एक खर्ब ५८ अर्ब रुपैयाँ बराबरको कुल निर्यातमा भटमास तेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ। नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात गरेको छ भने सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल पनि विदेश पठाइएको छ। त्यस्तै, पाँच अर्ब ८३ करोड ७३ लाख बराबरको अलैंची तथा चार अर्ब ३२ करोड ३९ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ।

व्यापार घाटा अझै उच्च

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्म नेपालले कुल १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। जसमा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा छ। पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

भारत र चीनसँगको व्यापार अवस्था

छिमेकी भारतसँग नेपालले आठ महिनामा पाँच खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भारतबाट छ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा, एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ। चीनबाट दुई खर्ब १९ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालले त्यहाँ दुई अर्ब १२ करोड रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ। यसरी चीनसँग नेपालको व्यापार घाटा २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

व्यापार नाफामा रहेका मुलुकहरू

नेपालले अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकसँग उच्च व्यापार घाटा व्यहोरेको छ। तर, अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायत ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ।

पेट्रोलियम पदार्थको उच्च आयात

नेपालले पछिल्लो आठ महिनामा ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ बराबरको डिजेल, ४२ अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको पेट्रोल, र ४१ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात गरेको छ। साथै, नौ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन र दुई अर्ब ११ करोड रुपैयाँ बराबरका अन्य सवारीसाधन आयात भएका छन्।

त्यसैगरी, २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ बराबरका १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button