No Image Headlineदेश

राजावादीको सक्रियताले झस्किएका नेता, गणतान्त्रिक गठबन्धन बन्न लागेको हो ? 

राजसंस्था पुनर्स्थापना र हिन्दूराष्ट्रको मागसहित भइरहेका गतिविधि तथा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि सत्ताधारी र विपक्षी दलहरूबीच गणतन्त्र जोगाउन मोर्चा निर्माणको चर्चा सुरु भएको छ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूले अहिले नै औपचारिक रूपमा मोर्चा बनाउने पहल नभएको बताएका छन्।

तर, गणतन्त्र जोगाउन सबै गणतन्त्रवादी शक्ति एक हुनुपर्ने आवश्यकता परेको खण्डमा साझा मोर्चा निर्माण हुन सक्ने उनीहरूको धारणा छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का एक नेताले भने बृहत् मोर्चाबारे छलफल चलेको भए पनि ठोस निर्णय हुन बाँकी रहेको बताए।

राजनीतिक विश्लेषकहरूका अनुसार देशमा बढ्दो असन्तोषका कारण परम्परागत तथा गणतान्त्रिक शक्तिहरू ध्रुवीकृत हुने परिस्थिति बन्दै गएको छ।

कांग्रेसभित्र हिन्दूराष्ट्रको माग

सत्तारूढ दल नेपाली कांग्रेसका एक शुभेच्छुक संस्थाले सातै प्रदेशमा अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदनमा नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने सुझाव आएको उल्लेख छ।

तर, कांग्रेसले आइतबार गणतन्त्र र धर्मनिरपेक्षताप्रति पुनः प्रतिबद्धता जनाउँदै आफ्नो आधिकारिक धारणा स्पष्ट पारेको छ।

पूर्वराजाको सक्रियता र सत्तापक्षको चेतावनी

फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रवासीलाई ‘साथ दिन’ गरेको आह्वानपछि सत्तारूढ र प्रतिपक्षी दलका नेताहरू उनको आलोचना गर्न अग्रसर भएका थिए।

त्यसैबीच, फागुन २५ गते शाह पोखराबाट काठमाडौं फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजसंस्था समर्थकको ठूलो भीड जम्मा भएको थियो। समर्थकहरूले उनलाई स्वागत गर्दै निर्मल निवाससम्म पुर्याएका थिए।

घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजसंस्था पुनःस्थापना गर्न खोज्नेहरूलाई कडा चेतावनी दिएका थिए।

राजावादी र गणतन्त्रवादीबीच शक्ति प्रदर्शन

राजसंस्था समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अन्य राजावादी समूहहरूले पञ्चायतकालीन राजनीतिज्ञ नवराज सुवेदीको नेतृत्वमा ‘जनआन्दोलन’ अघि बढाउने घोषणा गरेका छन्।

त्यसको प्रतिउत्तरस्वरूप माओवादी केन्द्रसहितका शक्तिहरूको समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा सभा गर्ने निर्णय लिएका छन्।

राजसंस्था पक्षधर र गणतन्त्र पक्षधर समूहहरूले यसै साता काठमाडौंमा एकै दिन कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्।

गणतान्त्रिक मोर्चाको तयारी

देशमा राजसंस्था पक्षधरहरूको सक्रियता बढ्दै गएपछि नेपालका वामपन्थी दलहरूले ‘गणतान्त्रिक मोर्चा’ निर्माणबारे छलफल अघि बढाएको नेताहरूले बताएका छन्।

गणतन्त्रवादी नेताहरूले पछिल्ला घटनाक्रमलाई ‘प्रतिगामी शक्ति सलबलाएको संकेत’ भन्दै गणतन्त्र जोगाउन साझा मोर्चा आवश्यक पर्ने बताएका छन्।

ओली, देउवा र प्रचण्डबीच छलफल

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यस विषयमा अनौपचारिक छलफल भएको बताइन्छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गणतान्त्रिक मोर्चाबारे छलफल गर्न आफ्नो सल्लाहकार अग्नि खरेललाई जिम्मेवारी दिएको खबर सार्वजनिक भएको छ।

नेपाली कांग्रेसभित्र सभापति देउवा मोर्चा बनाउन सकारात्मक देखिए पनि अन्य नेताहरूले तत्काल आवश्यक नरहेको तर्क गरिरहेका छन्।

नेता अर्जुननरसिंह केसीलगायतका केही नेताहरूले गणतन्त्र जोगाउन शक्ति एकत्रित गर्नुपर्ने तर्क गरेका छन्।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच गणतान्त्रिक मोर्चाबारे ठोस निर्णय नभए पनि, गणतन्त्रविरोधी गतिविधि बढ्दै गएमा यस्तो मोर्चा आवश्यक पर्नेमा नेताहरू एकमत देखिन्छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button