पृथ्वीमा फर्किएपछि अन्तरिक्षयात्रीहरूको कठिन पुनर्स्थापना प्रक्रिया

नासाका दुई अन्तरिक्षयात्री सुनी विलिअम्स र बुच विल्मोर नौ महिना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा बिताएर हालै पृथ्वीमा फर्किएका छन्। उनीहरू अहिले पृथ्वीमा पुनर्स्थापित हुने प्रक्रियामा छन्, जुन सजिलो भने छैन।



अन्तरिक्षमा पुग्नेबित्तिकै मानव शरीरमा महत्वपूर्ण परिवर्तनहरू आउन थाल्छन्। शून्य गुरुत्वाकर्षणका कारण मांसपेशी र हड्डीहरू कमजोर बन्दै जान्छन्। यदि अन्तरिक्षयात्रीहरूले नियमित व्यायाम नगरेमा मांसपेशीहरू क्षय हुनसक्छन्।



साउथ वेल्स विश्वविद्यालयका ह्यूमन फिजिओलजीका प्राध्यापक डेमिअन बेली भन्छन्, “अन्तरिक्षमा गुरुत्वाकर्षणको अनुपस्थितिले मानव शरीरमा चरम प्रभाव पार्छ। प्रत्येक महिना अन्तरिक्षयात्रीहरूको हड्डी र मांसपेशी झन्डै एक प्रतिशत नष्ट हुने सम्भावना हुन्छ।”



चाँडै आउने बुढ्यौली
गुरुत्वाकर्षण नहुँदा मुटुले रगत प्रवाह गर्न कम मेहनत गर्नुपर्छ। यसले रक्तप्रवाह प्रणाली कमजोर बनाउँछ। साथै, हड्डी निर्माण प्रक्रियामा पनि असन्तुलन आउँछ, जसका कारण हड्डीहरू कमजोर हुन थाल्छन्।
नियमित व्यायाम गर्नाले केही हदसम्म मांसपेशी र हड्डीको क्षयलाई रोक्न सकिन्छ। आईएसएसमा रहेका अन्तरिक्षयात्रीहरू ट्रेडमिलमा हिँड्ने, साइक्लिङ गर्ने र भारोत्तोलन गर्ने गर्छन्। पृथ्वीमा फर्किएपछि, उनीहरूलाई गुमेको शारीरिक क्षमता पुनः प्राप्त गर्न गहन अभ्यास गर्नुपर्ने हुन्छ।
शरीरका अन्य परिवर्तनहरू
अन्तरिक्षमा रहेको न्यून गुरुत्वाकर्षणले शरीरको तरल पदार्थको पुनर्वितरण गराउँछ। गुरुत्वाकर्षण नहुँदा तरल पदार्थ खुट्टाबाट माथि उठेर अनुहार र छाती क्षेत्रमा जम्मा हुन्छ, जसले गर्दा अनुहार फुल्न सक्छ।
यसले आँखा, स्नायु प्रणाली र भेस्टिब्यूलर प्रणालीमा समेत असर पार्न सक्छ। दृष्टि धमिलो हुनु, आँखाको स्नायु कमजोर हुनु, तथा सन्तुलन गुम्ने समस्या देखिन सक्छ। पृथ्वीमा फर्किएपछि, प्रारम्भिक दिनहरूमा शरीर सन्तुलन कायम गर्न कठिन हुनसक्छ।
पृथ्वीमा फर्किएपछिको चुनौती
अन्तरिक्षयात्री टिम पीक भन्छन्, “पृथ्वीमा फर्किएपछि केही दिनसम्म शरीरको सन्तुलन मिलाउन गाह्रो हुन्छ। सुरुका दुई(तीन दिनसम्म असहज महसुस हुन्छ।”
डा. हेलेन शर्मनका अनुसार, “अन्तरिक्षयात्राबाट फर्किएपछि मांसपेशी पुनःस्थापित हुन केही महिना लाग्छ, तर हड्डीको खनिज मात्रा पुरानै अवस्थामा फर्किन वर्षौँ लाग्न सक्छ।”
अन्तरिक्ष यात्राको प्रभाव वैज्ञानिक अध्ययनको विषय बनिरहेको छ। भविष्यमा अन्तरिक्ष यात्रालाई अझ सहज बनाउन अनुसन्धान जारी छ। बीबीसीको सहयोगमा