No Image Headlineअर्थ

लोडसेडिङमुक्त नेपालमा उर्जाको संकट, उर्जा मन्त्री भन्छन् – अब घरमा पनि लोडसेडिङ हुन सक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साँझको समयमा घरमै पनि लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन्।

राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले हाल भारतबाट ८३० मेगावाट विद्युत् आयात भइरहेको खुलासा गरेका छन्। मुलुकभित्रको कुल विद्युत् उत्पादन करिब १,००० मेगावाट मात्र भएकाले साँझको समयमा लोडसेडिङको सम्भावना रहेको उनको दाबी छ।

मन्त्री खड्काका अनुसार, औपचारिक रूपमा लोडसेडिङको अन्त्य गरिएको भए पनि उद्योगहरूमा अझै पनि विद्युत् कटौती भइरहेको छ। उनले भारतबाट आयात गरिएको विद्युत्ले वर्तमान माग धान्न नसक्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

उनका अनुसार वर्षायाममा उत्पादित ३,५०० मेगावाट विद्युत्मध्ये नेपाल विद्युत् प्राधिकरणले मात्र ७०० मेगावाट उत्पादन गर्छ, बाँकी उत्पादन निजी क्षेत्रले गरिरहेको छ। निजी क्षेत्रको योगदान र भारतबाट गरिएको विद्युत् आयातकै कारण लोडसेडिङ हटेको जस्तो देखिए पनि यो स्थायी समाधान नभएको उनको भनाइ छ।

मन्त्री खड्काले ‘उज्यालो नेपाल’ अभियानका नायक भनेर चिनिएका कुलमान घिसिङको भूमिकालाई चुनौती दिँदै उनले देखाएको नेपाल विद्युत् प्राधिकरणको नाफा सत्यतामा आधारित नभएको जिकिर गरे। साथै, चमेलिया जलविद्युत् आयोजनामा काम गरेवापतको भुक्तानी नहुँदा विद्युत् प्राधिकरणको बैंक खाता रोक्का भएको पनि उनले खुलासा गरे।

बैंक खाता रोक्का हुँदा मन्त्रालयलाई कुनै जानकारी नआएको भन्दै मन्त्री खड्काले आवश्यक कागजात मागेको जानकारी दिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button