गर्मीमा काक्रो खानुका यस्ता छन् फाईदै फाईदा

गर्मी मौसम सुरु भएसँगै स्वास्थ्यप्रति सचेत रहन आवश्यक हुन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने यस समयमा काँक्रो (काक्रो) सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ। काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ, जसले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ।



यसमा भिटामिन ए, बी, सी, पोटासियम, फस्फोरस, आइरनजस्ता पोषक तत्वहरू पाइन्छन्, जसले समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।



विशेषज्ञहरूका अनुसार, काँक्रोमा रहेको ‘इरेप्सिन’ नामक इन्जाइमले प्रोटिन पचाउन मद्दत गर्छ। यसको नियमित सेवनले पाचन प्रणालीलाई सुदृढ बनाउँछ र कब्जियतजस्ता समस्याबाट राहत दिन्छ। साथै, काँक्रोमा फाइबरको मात्रा बढी हुने भएकाले तौल नियन्त्रणमा पनि सहयोग पुग्छ।



काँक्रोको सेवनले छालाको स्वास्थ्यमा पनि सुधार ल्याउँछ। यसमा पाइने एन्टिअक्सिडेन्ट र भिटामिनहरूले छालालाई ताजा र चम्किलो बनाउँछ। आँखाको सुन्निन वा पोल्नेजस्ता समस्यामा काँक्रोको टुक्रा आँखामा राख्दा राहत मिल्छ।
मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूका लागि पनि काँक्रो लाभदायक मानिन्छ। यसमा रहेको पोटासियम, म्याग्नेसियम र फाइबरले रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ। साथै, काँक्रोको जुसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्याउँछ।
गर्मी मौसममा काँक्रोको सेवनले शरीरलाई शीतल राख्न, हाइड्रेटेड राख्न र विभिन्न स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ। त्यसैले, आफ्नो दैनिक आहारमा काँक्रो समावेश गरेर स्वास्थ्य लाभ लिन सकिन्छ।