दृष्टि/संवाददेशमुख्य खबर

पूर्वराजालाई चुनावमा आउन एमालेको चुनौती, कांग्रेसको धारणा के ?

सत्तारुढ नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक दल खोलेर लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सुझाव दिएको छ। एमालेले पूर्वराजाले संविधानअनुसार पार्टी खोली निर्वाचनमा भाग लिई संसदमा आउने हो भने त्यसलाई स्वागत गरिने बताएको छ।

सोमबार बसेको एमाले सचिवालय बैठकले गणतन्त्रविरोधी गतिविधि बढ्दै गएको निष्कर्ष निकाल्दै, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ। बैठकले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्तापक्ष र प्रतिपक्ष दलहरूसँग संवाद बढाउन सुझाव दिएको छ।

बैठकमा ओलीले बाह्य शक्तिको भूमिकाबारे चिन्ता व्यक्त गर्दै राजावादी शक्ति सडकमा आउनसक्ने सूचना आएको बताए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यसबारे छलफल गरेको जानकारी गराउँदै गणतन्त्र विरोधी गतिविधिको प्रतिवाद गर्न आवश्यक रहेको उल्लेख गरे।

गणतन्त्र पक्षधर शक्ति एकजुट हुने तयारी

बैठकमा सहभागी नेताहरूले लोकतन्त्र विरोधी आन्दोलनहरू बढ्दै गएकाले गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखेका थिए। एमालेले यसका लागि प्रतिपक्षी दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूसँग औपचारिक छलफल गर्ने तयारी गरिरहेका छन्।

एमाले नेताहरूले विरोध प्रदर्शन र शान्तिपूर्ण आन्दोलन नागरिकको अधिकार भए पनि राज्यको सेवा–सुविधाको दुरुपयोग गर्दै अराजक गतिविधि सञ्चालन गर्न नदिने बताएका छन्। केही नेताहरूले पूर्वराजा शाहले अशान्ति फैलाउने गतिविधि गरे कानुनी उपचार खोज्नुपर्ने धारणा राखेका छन्।

सहमतिको सरकारको सम्भावना छैन

बैठकमा ओलीले राष्ट्रिय सहमतिको सरकार गठनको कुनै सम्भावना नरहेको स्पष्ट पारे। उनले कांग्रेस सभापति देउवासँग पनि छलफल भएको जनाउँदै सत्ता गठबन्धन बलियो रहेको बताए। साथै, एमालेले सञ्चालन गरिरहेको ‘जरा अभियान’ लाई उपयोग गर्दै आवश्यक परे जनता सडकमा आउन तयार राख्ने निर्णय गरेको छ।

बैठकमा मन्त्रीहरूको प्रदर्शन सुधार गर्नुपर्ने सुझाव उठेको थियो। नेताहरूले सरकारका कमजोरी सच्याउनुपर्ने र विवादास्पद अभिव्यक्ति दिने मन्त्रीहरूलाई परिवर्तन गर्नुपर्ने धारणा राखे। ओलीले सुझावलाई सत्ता गठबन्धनको बैठकमा राख्ने प्रतिबद्धता जनाए।

पूर्वराजालाई निर्वाचनमा आउन खुला चुनौती

एमालेले पूर्वराजा ज्ञानेन्द्रलाई संविधानअनुसार दल खोलेर निर्वाचनमा भाग लिन खुला चुनौती दिएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ‘राजनीतिक दल खोल्न कसैले रोकटोक नगर्ने’ भन्दै निर्वाचनबाट संसदमा आउनुपर्ने धारणा राखे। उनले अराजक गतिविधि गरेर अशान्ति सिर्जना गर्न नहुने बताउँदै पूर्वराजाले राजनीतिक प्रक्रियाबाट अघि बढ्नुपर्ने स्पष्ट गरे।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले राजावादी शक्तिहरूले घोषणा गरेको आन्दोलनबारे संस्थागत धारणा बनाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको छ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले, राजावादी आन्दोलनबारे छलफल गर्दै आगामी चैत १० गते कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको हो।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चैत १० गते कार्यसम्पादन समिति बैठक बस्ने जानकारी गराए। ‘बैठकमा समग्र विषयमा समीक्षा गरी आवश्यक निर्णयहरू गरिनेछ,’ उनले भने। प्रवक्ता महतका अनुसार पदाधिकारी बैठकमा राजावादीको पछिल्लो गतिविधिबारे सामान्य समीक्षा गरिएको छ। कार्यसम्पादन समिति बैठकमा पार्टीको औपचारिक धारणा तय गर्नेबारे विस्तृत छलफल गरिने छ।

‘संविधान जनताले निर्माण गरेका हुन्। झण्डै ९० प्रतिशत निर्वाचित प्रतिनिधिहरूले संविधान निर्माण गरेका छन्,’ प्रवक्ता महतले भने, ‘जनताको इच्छाअनुसार बनेको संविधानअनुसार नै सरकार सञ्चालन भइरहेको छ। उपलब्धिको रक्षा गर्न कांग्रेस प्रतिबद्ध छ।’ बैठकमा राजावादी आन्दोलनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे थप छलफल गरिने उनले बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button